
“काम गर्ने मान्छेलाई यो शहरमा उसै बस्न गाह्रो हुँदोरहेछ, बरु गाउँ गएर मकै छरेर लकडाउन सकिएपछि आउँछु ।” सिन्धुली सिरथौलीकी निर्मला तामाङ बन्दाबन्दीको समयमा पनि गाउँ जान पाउँदा खुशी हुनुहुन्छ । उहाँलाई लकडाउनपछिको एक महिना एउटै कोठामा बिताउन गाह्रो भएको थियो । दैनिक ज्यालादारी गरेर तीन छोरछोरी पढाउँदै आउनुभएका उहाँले झण्डै एक महिना पहिलेदेखि भने हात बाँधेर बस्नुप¥यो ।
तामाङले लकडाउन पहिले एक बोरा चामल, दाल, चिनीलगायतका खाद्यान्न किन्नुभएको थियो । त्यही खानेकुरा खाँदै गर्दा वडा कार्यालयबाट पनि राहत पाउनुभयो । आफूले किनेको र राहतको खाद्यान्न घरमै बसेर खाँदा सकिँदै गएकाले उहाँलाई फेरि पाइने हो कि होइन भन्ने चिन्ता थियो । एउटा सानो कोठामा तीन सन्तानलाई अड्याएर राख्न पनि हम्मेहम्मे परेको थियो । आफ्नो घर गएपछि ढुक्कले बस्न पाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “घर गएपछि त मकै, कोदो जे–जे छ त्यही खाए भो नि ।”
लकडाउनका कारण खान–बस्न कठिनाइ आएकाले घर फर्किने शर्मिला मात्रै होइन । बुधबार साँझ सिन्धुली, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्ला जाने धेरै व्यक्ति जडीबुटी क्षेत्रमा आफ्नो पालिकाले पठाएको गाडी कुरिरहेका भेटिन्थे । यसरी घर फर्किनेको भीडमा सबैभन्दा बढी दैनिक मजदुरी गर्ने र विद्यार्थी छन् । लकडाउन लम्बिँदै जाँदा आफूसँग भएको रासन र पैसा सकिएपछि उनीहरु घर फर्किन लागेका हुन् ।
सिन्धुलीकै मरिन गाउँपालिकाका प्रेम मगर र दीपेन्द्र मगर पनि घर जानका लागि जडीबुटीमा गाडी कुरिरहनुभएको थियो । लुगाफाटोसहितको ठूलो बोरा बोकेर बिहान खाना खाएपछि गाउँ जानका लागि कपनबाट हिँडेको उहाँले बताउनुभयो । सार्वजनिक सवारी साधन चलाउँदै आउनुभएका उहाँहरु लकडाउनपछि काम गर्न पाउनुभएको छैन । उहाँहरुले पहिले वडामा राहतका लागि फारम भर्नुभएन । आफूसँग बाँकी रहेको रासन सकिएपछि भरे पनि वडाले बाँड्न बाँकी रहेको उहाँले बताउनुभयो । काम गर्न नपाएकै कारण घर जान हिँडेको उहाँहरुले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी बन्द हुँदा मुखै बन्द होला भन्ने डर, बरु आफ्नै घर पुगेपछि आनन्द ।”
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस