चितवनः जिल्लाको सदरमुकाममा यातायातको चाप वढे संगै यसलाई व्यवस्थापनको पक्षमा जिल्ला ट्राफिक प्रहरी लागेको छ । यातायातको चाप बढे संगै दुर्घटना वढ्ने र ग्रामीण क्षेत्रका जनताले सहज रुपमा यातायात पाउन नसके संगै प्रहरीले व्यवस्थापनको काम सुरु गरेको हो ।
जस अनुसार आज जिल्लामा यात्रु बोक्ने चार पाङ्ग्रे म्याजिकको रुट निर्धारण गरिएको छ । बजार क्षेत्रमा बढ्दो चाप र ग्रामीण क्षेत्रमा यातायात साधनको अभाव भए पछि व्यवस्थित गर्दै ५ सय ८३ वटा म्याजिकलाई १२ वटा रुटको अनुमती दिईएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका र म्याजिक यातायात व्यवसायीहरुको साझा संस्था संयुक्त यातायात व्यवसायी समिति संग समन्वय गरेर रुट ईजाजत प्रदान गरेको हो । आज यहाँ आयोजित रुट नम्बर बितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्ट र संयुक्त यातायात व्यवसायी समितिका अध्यक्ष चिनीवहादुर बोहोराले तोकीए अनुसारको क्षेत्रमा सवारी संञ्चालन गर्न आग्रह गर्नु भएको थियो ।
सो अबसरमा भरतपुर चक्रपथमा सबैभन्दा बढि २ सय ५० वटा, शारदानगर तर्फ ९२ वटा, गितानगरतर्फ ७१ वटा, बिजयनगर तर्फ २९ वटा, गौरीगञ्ज तर्फ ४३ वटा, गोन्द्राङ् तर्फ ५३ वटा, भोजाड तर्फ १४ वटा, खोलेसिमलका लागि १८ वटा, गैंडाकोटका लागि ४४ वटा, मुग्लिनका लागि २० वटा, पर्साका लागि ३० वटा र देवघाटका लागि १० वटा म्याजिकलाई संञ्चालनका लागि रुट नम्बर दिईएको छ ।
यस अघि ईजाजत दिदा जिल्ला र अञ्चल भरीनै संञ्चालन गर्न पाउने सुबिधा दिए पछि सबैको ध्यान बजार क्षेत्र हुने गरेको थियो । जसका कारण बजार अस्तव्यस्त बनेको र ग्रामिण क्षेत्रमा यात्रुले सवारी पाउन मुस्किल भए पछि स्थानीय स्तरको आबश्यकतालाई ध्यानमा राखेर संख्या निर्धारण गरिएको भट्टले जानकारी दिनुभयो ।
रुट नम्बर पाएका सवारी साधनलाई एक साता भित्र संञ्चालन हुने क्षेत्रको नाम लेखेर अगाडी राख्न आग्रह गरिएको छ । जिल्लामा ६ सय ७४ वटा म्याजिक दर्ता छन् । आज रुट नपाएकाहरुको कागजपत्र हेरेर आबश्यकता महशुस भएका क्षेत्रमा थप गरिने उहाँले जानकारी दिनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस