एम्बुलेन्स बिरामी वा घाइते मान्छेलाई रोग वा चोट लागी उपचार गर्नका निम्ति अस्पतालसम्म पु¥याउन प्रयोग हुने सवारीसाधन हो । एम्बुलेन्स अंग्रेजी शब्द देखिए पनि हामी सबै यसको अर्थ सम्बन्धमा जानकार छौँ र सबैले यसलाई एम्बृुलेन्स नै भनेर बुुझ्दछौँ । अंग्रेजीमा एम्बुलेन्सको अर्थ बिरामीलाई अस्पतालबाट वा अस्पतालसम्म लैजानका लागि आवश्यक पर्ने साधनस्रोत भएको र सोहीबमोजिम तयार गरिएको सवारीसाधन भन्ने बुझिन्छ भने नेपाली शब्दसागरले एम्बुलेन्स शब्दलाई आकस्मिक दुर्घटनाग्रस्त व्यक्तिलाई अस्पताल वा स्वास्थ्य शिविर पु¥याउने सवारी, बिरामी ओसारपसार गर्ने सवारीसाधन भनी अथ्र्याएको पाइन्छ । जेजसरी बुझे पनि एम्बुलेन्स भनेको घाइते वा बिरामी बोक्ने हो र यो घाइते वा बिरामी बोक्नका लागि योग्य हुनुपर्दछ भन्ने कुरा हामी सबैलाई कसैले भन्नु र बुझाउनु नपर्ने विषय हो ।
एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्न तथा एम्बुलेन्स सेवामा जनताको पहुँच बढाई सेवाको गुणस्तर वृद्धि गर्न नेपाल सरकारले एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ लागू गरी दफा २ मा एम्बुलेन्स भन्नाले बिरामी ओसार्ने स्वीकृतिप्राप्त गरेको वाहन सम्झनुपर्दछ र सो शब्दले एम्बुलेन्समा जडित उपकरण, चालक र परिचारिकासमेतलाई जनाउँछ भनी परिभाषितसमेत गरेको छ भने राष्ट्रिय एम्बुलेन्स सञ्चालन समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एम्बुलेन्स आयातमा राजस्व छूट माग गरेमा कानुनबमोजिम मन्त्रालयमा सिफारिस गर्ने, सेवाको अनुगमन गर्ने, चालकका आचारसंहिता लागू गराउने, आचारसंहिता पालना नगर्ने एम्बुलेन्सलाई चेतावनी दिने, दर्ता खारेजीको कारबाही गर्ने, गुनासो तथा उजुरीको सुनुवाइ गर्ने, भाडा निर्धारण गर्ने, बिमा गराउने, समीक्षा बैठक गर्ने र जिल्लाको विशिष्टतालाई ध्यानमा राखी थप मापदण्ड बनाउने आदि काम, कर्तव्य र अधिकार तोकी जिल्ला एम्बुलेन्स सेवा समितिको व्यवस्थासमेत गरेको छ भने तीन सदस्यीय अनुगमन उपसमितिसमेत व्यवस्था गरेको छ ।
यसका अतिरिक्त एम्बुलेन्स सेवा सञ्चालन गर्ने संस्थाले प्रचलित कानुनमा उल्लेख भएका सर्तहरु पालना गरी समितिको समन्वयमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने, तोकिएको भाडा लिई सेवाग्राहीलाई बिल दिने, संस्था, सञ्चालक र एम्बुलेन्सको विवरण एम्बुलेन्समा टाँस्नुपर्ने, बिरामी वा घाइतेलाई अस्पताल वा बासस्थानसम्म पु¥याउनमात्रै एम्बुलेन्स प्रयोग गर्नुपर्ने, बिमा गर्नुपर्ने, असहाय, गरिब, सडक दुर्घटनामा परेका व्यक्तिलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने, कुनै पनि बहानामा एम्बुलेन्स सेवाबाट कसैलाई पनि वञ्चित गर्न नहुने र बेवारिसे र विपन्न बिरामीलाई निःशुल्क सेवा प्रदान गर्न आवश्यक आर्थिक व्यवस्थापन गर्नुपर्ने, एम्बुलेन्सलाई चौबिसै घन्टा सेवा प्रदान गर्ने हालतमा राख्नुपर्ने, स्वास्थ्य संस्थाको समन्वयमा मात्र सञ्चालन गर्ने र चालकको पोसाकको व्यवस्था गर्ने भनी संस्थाका कर्तव्यसमेत तोकिएको छ ।
एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ ले एम्बुलेन्सको मापदण्ड तथा वर्गीकरण गर्दै राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्यरुपमा पालना गरेको, पहिचान हुने गरी आवाज (साइरन) जडान भएको, नीलो रङको संकेत बत्ती जडान भएको, पालिकाले तोकेबमोजिमको फोर ह्वील ड्राइभ, सस्पेन्सन चेन सिस्टम भएको, एम्बुलेन्स शब्द र संस्थाको टेलिफोन अंगे्रजी र नेपाली दुवै भाषामा लेखिएको, वर्ग उल्लेख भएको, वर्गीकरणअनुसारका सुविधाहरु अध्यावधिक भएको, एक हजार सिसीभन्दा बढी क्षमताको भएको, चालकको पछाडि कुनै सिट नराखिएको, राजस्व छूट प्राप्त भएमा सो लेखिएको, वर्गअनुसारका रङ लगाइएको हुनुपर्ने भनी एम्बुलेन्सको मापदण्ड तोकिएको छ भने चालक २५ वर्ष उमेर पूरा भएको, प्राथमिक उपचार तालिमप्राप्त र पाँच वर्षको चालकको अनुभव भएको व्यक्ति हुनुपर्ने भनी विशेष व्यवस्थासमेत गरेको देखिन्छ ।
यसरी राज्यले एम्बुलेन्सलाई विशेष व्यवस्था गरी यसको दुरूपयोग हुन नदिनेतर्फ सचेत रहेको पाइए पनि विशेष अनुगमन र नियमन नभएका कारण तथा संस्था र चालकले जिम्मेवारी वहन नगर्नाले एम्बुलेन्समाथि विभिन्न प्रश्नचिन्हहरु खडा भएका छन् ।
केही यथार्थ र केही आक्षेप
— लागूऔषध, गाँजा तथा अवैध सामानहरु ओसारपसार गर्ने ।
— बिरामीबाहेकका अन्य व्यक्ति ओसारपसार गर्ने, मृतक बोक्ने ।
— भाडाबारे सर्वसाधारणलाई जानकारी नभएको, भाडाको बिल नपाइने ।
— बिरामीले रोजेको स्थानमा र जानकारी गराएर भन्दा चालकले रोजेको स्थानमा बिरामी पुग्ने ।
— आफ्नो स्टेसनमा नबसेर बिरामी खोज्दै चाहर्ने ।
— रातको समयमा र गाउँगाउँमा एम्बुलेन्स पाउनै कठिन, बाहिर छु, बिग्रेको छ आदि भन्ने कसैको नियन्त्रण नभएको ।
— वर्गीकरणअनुसारका उपकरणको त के कुरा अत्यावश्यक उपकरण तथा सेवाहरु समेत नभएको ।
— बिरामी नभएको समयमा पनि साइरन बजाउँदै हिँड्ने, जहाँतहीँ ओभरटेक गर्ने, लेन अनुशासनको पालना नगर्ने, जहाँ पायो त्यहीँ पार्किङ गर्ने ।
— यदाकदा चालकले मापसेसमेत गर्ने, चालकको पोसाक तय र कडाइ नभएको ।
— एम्बुलेन्सबाहेकका अन्य सवारीले पनि प्रयोजनविपरीत बिरामी घाइते ओसारपसार गर्ने आदि आदि ।
माथि उल्लेखित एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ का व्यवस्था र हालको अवस्थालाई मध्यनजर गर्दा चितवन जिल्लामा रहेका एम्बुलेन्सहरुलाई स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीको पहलमा व्यवस्थित गर्न आवश्यक देखिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पालिकाहरुको काम, कर्तव्य र अधिकार तोक्दा स्थानीय सेवाको व्यवस्थापन गर्ने, स्वास्थ्य सेवासम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने, यातायात सुरक्षाको व्यवस्था र नियमन गर्ने, विपद् व्यवस्थापनको स्थानीय नीति, कानुन, मापदण्ड योजना कार्यान्वयन, अनुगमन र नियमन गर्ने भन्ने उल्लेख भएकोले पनि पालिकाहरु यसमा जिम्मेवार हुनु आवश्यक देखिन्छ, तसर्थ चितवन जिल्लामा :
— प्रत्येक पालिकाले आफ्ना स्वास्थ्य संस्थाहरुसँगको समन्वयमा आवश्यक पर्ने एम्बुलेन्सहरुको यकिन र व्यवस्थापन गरी डिस्प्याच सेन्टर स्थापना गर्नुपर्दछ ।
— कुनै पालिकाको एउटा एम्बुलेन्स जिल्लाबाहिर जानु परेको अवस्थामा त्यस स्टेसनमा अर्को एम्बुलेन्स रहने गरी व्यवस्थापन गर्नुपर्दछ ।
— भरतपुर महानगरपालिकाको हकमा सरकारी अस्पतालबाट करिब १० किमीको इलाकामा रहेका वडाहरुबाहेकका अन्य वडाहरुमा समेत एम्बुलेन्सको स्टेसन वा डिस्प्याच सेन्टर स्थापना गर्नुपर्दछ ।
— भरतपुर महानगरपालिकाले सरकारी अस्पताल वा त्यसको वरपर उपयुक्त स्थानमा करिब ३ कठ्ठा जग्गाको व्यवस्था गरी एउटा ड्युटी रूम, १०२ नम्बरको निःशुल्क टेलिफोनसमेतको संयुक्त एम्बुलेन्स पार्किङ तथा डिस्प्याच सेन्टर स्थापना गरी जिल्लाको कमान्ड सम्हाल्नुपर्दछ ।
— १०२ नम्बरलाई चौबीस घन्टा नै सेवा दिने गरी तयारी राख्नुपर्दछ भने सेवाग्राहीले त्यसमा एक कल फोन गर्नासाथ सेवा प्राप्त गर्ने प्रणालीको विकास गर्नुपर्दछ ।
— हाल एम्बुलेन्सहरुमा अत्यावश्यक सामग्रीसमेत नहुने गरेकोले प्रथम चरणमा कम्तीमा पनि प्राथमिक उपचारका सामानहरु, अक्सिजन सिलिन्डर, आइभी ड्रिप, स्ट्रेचर कम बेड, ब्लड प्रेसर सेट, टर्च लाइटको अनिवार्य व्यवस्था गर्नुपर्दछ भने क्रमशः एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को अनुसूची ७ बमोजिमका उपकरणहरु तथा जनशक्तिको व्यवस्थापनतर्फ लाग्नु पर्दछ ।
— केही निजी तथा भाडाका सवारीहरु एम्बुलेन्सको काम गर्न अस्पतालवरपर रहने गरेको समेत देखिएकोले त्यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्दै बिरामीका लागि एम्बुलेन्स नै हो भन्ने वातावरण सृजना गर्नुपर्दछ ।
— एम्बुलेन्सको भाडादर सबैलाई जानकारी गराउनुपर्दछ र बिल लिने–दिने गर्नुपर्दछ ।
— चालकलाई अनिवार्यरुपमा प्राथमिक उपचारको तालिम दिई, उपयुक्त पोसाकको व्यवस्था गरी जिम्मेवार बनाउनुपर्दछ ।
— एम्बुलेन्स सेवा हो व्यापार होइन, यसलाई सबैले यसै अर्थमा बुझ्नु र कार्यान्वयन गर्नुपर्दछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस