चितवन । चितवनमा पोलियोविरुद्धको आईपीभी खोप अभियान आजदेखि सुरु हुँदै छ । पोलियो खोप लगाउन छुटेका ३६ हजार भन्दाबढी बालबालिकालाई जेठ २२ गतेसम्म खोप लगाइँदै छ । खोप अभावका कारण विंस. २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरु आईपीभी खोप लगाउनबाट छुटेका थिए ।
उक्त उमेर समूहका बालबालिकालाई मात्रै पोलियो खोप लगाउन अभियान सञ्चालन गरिएको हो । खोप अभियान देशभर सञ्चालन भएको छ । पोलियो रोगबाट बच्नका लागि पोलियो थोपासँगै खोप पनि लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनले बताएअनुसार नेपालमा विंस. २०७१ असोजदेखि आईपीभी खोप लगाउने कार्यक्रम सुरु भएको थियो । तर, बीचमा खोप अभाव भएपछि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित भएका थिए । पोलियोबाट पाँच वर्ष मुनिका बालबालिकाहरुमा बढी जोखिम हुन्छ ।
चितवनमा आईपीभी खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या ३६ हजार ७१४ रहेको जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत जयराम दवाडीले जानकारी दिए । उनीहरुलाई खोप लगाउनका लागि जिल्लाभर ५१० खोप केन्द्रको व्यवस्था गरिएको छ भने ४१२ स्वास्थ्यकर्मी र ७२३ स्वयमसेवक परिचालन गरिएको उनले बताए । बच्चाको जन्ममिति हेरेर खोप लगाउन छुटेका बालबालिकाको यकिन गरी खोप दिइने छ ।
उनका अनुसार भरतपुर महानगरका १९ हजार २९४, रत्ननगरका चार हजार ३६९, राप्तीका तीन हजार ८५३, खैरहनीका तीन हजार २६१, कालिकाका दुई हजार ३३४, माडीका दुई हजार १२९ र इच्छाकामनाका एक हजार ४७४ बालबालिकालाई आईपीभी खोप दिइने छ । भरतपुरमा जेठ १३ देखि २२ गतेसम्म, रत्ननगरमा जेठ १३ देखि १८ गतेसम्म, कालिकामा जेठ १३ देखि १६ गतेसम्म र इच्छाकामनामा जेठ १४ देखि २० गतेसम्म खोप अभियान सञ्चालन हुने छ ।
त्यस्तै, माडी, खैरहनी र राप्तीमा जेठ १६ गतेदेखि १८ गतेसम्म अभियान सञ्चालन हुने उनले जानकारी दिए । लक्षित समूहका बालबालिकाहरु अहिले पाँच वर्ष सात महिनादेखि महिनादेखि आठ वर्ष पुगिसकेका छन् । उनीहरु अहिले विद्यालय जाने गरेकाले अधिकांश खोप केन्द्र विद्यालयहरुलाई नै बनाइएको दवाडीले बताए । विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाले पनि विद्यालय खोप केन्द्रमा गएर खोप लगाउन सक्ने छन् ।
पोलियो विरुद्ध ओपीभी खोपको नियमित पहिलो मात्रा छ हप्ता र दोस्रो मात्रा १० हप्ताको उमेरमा दिनुपर्छ भने आईपीभी खोपको पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनाको उमेरमा दिनुपर्छ ।
आईपीभी खोप लगाएपछि बालबालिकाहरुमा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने र ज्वरो आउन सक्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए । ‘खोप सुरक्षित छ । १०औँ लाख बालबालिकामध्ये एक÷दुई जनामा गम्भिर खालको असर पनि देखिन सक्छ । त्यस्तो अवस्थामा तत्काल उपचारको लागि हरेक पालिकामा चिकित्सकसहितको टिम तयारी अवस्थामा रहन्छ’, उनले भने ।
विश्व स्वास्थ्य संगठनले सन् २०२६ सम्म विश्वबाट पोलियो रोग उन्मुलन गर्ने लक्ष्य लिएको छ । नेपालमा विंस. २०६७ भदौ १४ गते रौतहटमा एक जना पोलियो रोगको विरामी देखापरेपछि हालसम्म पोलियो रोगका विरामी भेटिएका छैनन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस