सुर्खेत समाचारदाता
सुर्खेत, मङ्सिर १५ गते । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा सञ्चालित ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमले नागरिकका गुनासो सम्बोधन गर्ने प्रयास गर्दै आएको छ । सुर्खेतस्थित सहकर्मी समाजले गत वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रममा ८६४ वटा गुनासा दर्ता भई आधाभन्दा बढी समाधान भएको जनाइएको छ । ४५६ वटा गुनासा समाधान भएका छन् । जसबाट एक हजार ६७१ जना सेवाग्राही लाभान्वित भएका छन् । ४० वटा गुनासा समाधानको प्रक्रियामा रहेको जनाइएको छ ।
स्थानीय पालिका, प्रदेश सरकारलगायत सार्वजनिक चासो र सरोकारका विषयमा गुनासा आउने गरेको बताइन्छ । सो कार्यक्रमसम्बन्धी स्रोतव्यक्ति सरस्वती सापकोटाले आर्थिक वर्ष २०७५/७६ मा ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याए पनि प्रभावकारी हुन नसकेकाले त्यसैलाई परिष्कृत गरेर नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँले कार्यक्रमको प्रभाव दूरदराजसम्म पुगेको, सीमान्तकृत, दलित, आदिवासी जनजाति र अल्पसङ्ख्यक समुदायको समस्यालाई सम्बोधन गर्न सफल भएको, गुनासो आउने दरमा वृद्धि भएको र सम्बन्धित निकायले समाधान गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी सेवासुविधा नपाएको, काम गरेको रकम भुक्तानी नभएको, बजार क्षेत्रका ढल तथा सरसफाइ, मिटरब्याजबाट पीडितको समस्या, विद्यालय, स्वास्थ्य संस्थाको स्तरोन्नतिका सम्बन्धमा बढीजसो गुनासो आउने गरेका छन् ।
भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले सर्वसाधारण समस्यामा परेको, स्थानीय तहको निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुन नसकेको, विद्युत् आपूर्ति अनियमित भएको, ग्रामीण सडकको दुरवस्था, निःशुल्क सेवालाई सशुल्क लिने गरेको जस्ता गुनासो आउने गरेको जनाइएको छ । बाढीपीडितको पुनर्बास, स्थानीय सरकारको अनुदान प्रभावकारी हुन नसकेको, यातायात क्षेत्रमा भएको सिन्डिकेट र मनपरी भाडा दर, स्वास्थ्य केन्द्रमा जनशक्तिको अभाव, लक्षित वर्गका लागि विनियोजित बजेट पुग्न नसकेको लगायत गुनासा बढी आउने गरेको जनाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस