
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल सवार दुबईको उडानमा बिहीबार छुटेका यात्रुलाई नेपाल वायुसेवा निगमले वैकल्पिक उडानबाट पठाउने जनाउँदै माफी मागेको छ । निगम प्रवक्ता रमेश पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै २ सय ७४ यात्रुमध्ये ३१ जना छुटेकामा क्षमायाचना गरेका हुन् ।
‘निगमले ७ गते नै बिहीबारको आरए २२९ उडान सार्ने निर्णय गरेको थियो,’ निगमको वाणिज्य विभागका एक उपनिर्देशकले भने, ‘हामीले सबै यात्रुलाई उडान सार्ने निर्णयपछि अटोमेसन इमेल र अधिकांशलाई फोन गरेका थियौं । छुट्न गएका यात्रुबारे आन्तरिक छानबिन गर्नेछौं ।’ ती उपनिर्देशकले विदेशबाटै टिकट काटेर आएका केही यात्रुको फोन सम्पर्क हुन नसकेपछि इमेल पठाएको दाबी गरे ।
निगमको वाणिज्य विभागले बिहीबार फेसबुकबाट निगमको उडानमा छुटेको भिडियो सार्वजनिक गर्ने यात्रुलाई पनि फोनमार्फत उडानको समय साढे ११ बजेबाट साढे ९ बजे सारिएको खबर गरेको दाबी गरेको छ । बिहीबारको उडानका यात्रुबारे इमेल र फोन पठाइएको विस्तृत विवरणको लगबुक निगममा भएको बताउँदै ती उपनिर्देशकले छुटेका यात्रुलाई निगमकै खर्चमा होटलमा राखिएको र वैकल्पिक उडानबाट शुक्रबारसम्म गन्तव्यमा पठाइने बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस