नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।
चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ ।
प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र दशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको थियो ।
दर्शकको अपार मायाका साथ चलचित्रले प्रदर्शनको लामो यात्रा तय गरेको हो । काठमाडौंसँगै देशका विभिन्न सहरका हलमा चलचित्र बिहीवार ४९ औं दिनमा प्रदर्शनरत छ ।
काठमाडौंमा अष्ट नारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा चलचित्र प्रदर्शनरत छ ।
त्यस्तै, बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा चलचित्र निरन्तर चलिरहेको निर्माता राजेश वंशलले जानकारी दिए ।
चलचित्रले कमाइ पनि राम्रो गरेको छ ।
घरेलु बक्स अफिसमा चलचित्रले ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माता वंशलले बताए । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् ।
प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको समेत चलचित्रमा शीर्ष भूमिका छ ।
मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
विदेशमा पनि
नेपालका दर्शकमाझ रुचाइएको चलचित्रको विदेश प्रदर्शन सुरु भइसकेको छ । चलचित्र यूएई, कतार, इराक, ओमान, बहराइनलगायतका मध्यपूर्वका देशमा प्रदर्शनमा आइसकेको छ ।
कुवेतमा केही दिनमा प्रदर्शनमा आउँदैछ । माल्टामा चलचित्रले दर्शकबाट राम्रो माया पाइसकेको निर्माण पक्षले जनाएको छ ।
अमेरिकाको विभिन्न सहरमा चलचित्रको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयंम नै यतिबेला चलचित्र प्रदर्शनका लागि अमेरिकामा छन् ।
फिनल्यान्ड र स्पेनमा चलचित्र प्रदर्शन हुने क्रममा छ । जापानका केही सहरमा चलचित्र प्रदर्शन तय भएर प्रचारप्रसार सुरु भइसकेको छ ।
कोरियामा डिसेम्बर ३ बाट चलचित्र प्रदर्शनमा आउँदैछ । अस्ट्रेलिया, यूके, हङकङ, न्युजिल्याण्ड, क्यानडासँगै भारतमा समेत चलचित्र प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस