काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै अन्य नेताहरूले ‘पद केही होइन, काम ठूलो हो’ भनेर आदर्शवादी भाषण छाँट्दै हिँड्थे । तर, महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले बाँडफाँट गरेको नेताहरुको जिम्मेवारीले उक्त भाषणलाई उपहास गरेको छ ।
अर्थात् नेताहरुलाई पदको भाग पुर्याउँनकै लागि सहमहामन्त्री र सहप्रवक्ता नै तीन–तीनजना राखिएको छ ।
पार्टी महामन्त्री मुकुल ढकाल यसअघि नै पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए । अहिले उनको जिम्मेवारी अरु नेतालाई पनि बाँडिएको छ । नेताहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री नियुक्त गरिएको छ ।
त्यस्तै ढकालको प्रवक्ताको जिम्मेवारी पनि बाँडिएको छ । केन्द्रीय सदस्यहरु रमेश प्रसाईं, मनिष झा र प्रतिभा रावललाई सहप्रवक्ता तोकिएको छ । सामान्यतया सहमप्रवक्ता राख्ने चलन हुँदैन । तर रास्वपामा तीनजना सहप्रवक्ता राखिएको छ ।
त्यस्तै उपसभापति र सहकोषाध्यक्ष पनि दुई–दुईजना बनाइएको छ । उपसभापतिको पहिलो वरीयतामा डोलप्रसाद अर्याल छन् भने दोस्रोमा स्वार्णिम वाग्लेलाई राखिएको छ ।
त्यस्तै सहकोषाध्यक्षमा दीपक बोहोरा र बसुमाया तामाङलाई नियुक्त गरिएको छ ।
रास्वपामा सभापति, महामन्त्री र कोषाध्यक्ष भने एक–एक जना छन् । सभापतिमा लामिछाने र महामन्त्रीमा ढकाल कायम भएका छन् भने कोषाध्यक्षमा लिमा अधिकारी चुनिएकी छिन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस