काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने जिम्मा अब एमालेले लिने बताएका छन् । बिहीबार गोठलापानीमा ‘झुलाघाट–चिवा भन्ज्याङ यात्रा’को पहिलो आरम्भ सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस देशमा नेकपा एमाले रहेको भन्दै देशलाई पराधीन हुन नदिने दाबी गरे ।
‘यस देशको भूगोलको रक्षा एमालेले गर्छ । सार्वभौम सत्ताको रक्षा एमालेले गर्छ । देशको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा एमालेले गर्छ’, ओलीले भने, ‘जनताका हितका निम्ति गर्नुपर्ने काम एमालेले गर्छ । आवश्यक कदम चाल्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले विकासलाई साकार बनाइ छाड्ने भन्दै एमालेको नेतृत्वमा गरिबीबाट देशलाई मुक्त गरेर समृद्ध र धनी देश बनाउने बताए ।
उनले एमालेले कुनै पनि नाउमा जनता भाँड्ने र जनतालाई अलग थलग पार्दै जनताका बीचमा मारमुङ्ग्री मच्चाउने किसिमका क्रियाकलापलाई अगाडि बढ्न नदिने बताए । उनले देश बनाउने जिम्मा एमालेले लिने भन्दै ढुक्क रहन आग्रह पनि गरे ।
‘त्यसकारण देश बनाउने जिम्मा नेकपा एमालेले लिन्छ । यहाँहरू ढुक्क हुनुस्’, ओलीको भनाइ छ । यसैकारण झुलाघाट चिवा भन्ज्याङ यात्रा सुरु गरिएको भन्दै बाहिर निस्केर जाडो याममा गरम पारेको ओलीको भनाइ छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस