चितवन : नेदरल्याण्डदेखि तिहारसँगै सौराहा घुम्न आएकी ४५ वर्षिया पर्यटक उईली झण्डै ५ घण्टा भन्दा बढी निकुञ्जको जीप सफारीमा रमाइन् । २० जना साथीसँग आएकी उनी हात्ती भन्दा जीप सफारीमा रमाइन् । जीप सफारीमार्फत् निकुञ्जको तीन किसिमको वन क्षेत्र, नदीतटीय वन, घाँसे मैदान वन र सालघारी वन देख्दा उनी अचम्मित भइन् ।
उनलाई गैंडा, भालु, मयुर, जरायो, गोहीलगायतका जीवजन्तुसहित पुराना ताललैयाले लोभ्यायो । ठूला र साना जनावर जीपबाटै सुरक्षित तरिकाले नजिकबाट फोटो खिच्दै घुम्दा समय गएको पत्तै भएन् । ‘हरियाली फाँट चर्दै गरेको गैंडा, आडैमा मयुरलाई पृष्ठभूूमि बनाएर तस्विर, भिडियो नखिची लागेन’ नेदरल्याण्डबाटै आएका मारटाकेले भने, ‘यहाँको प्राकृतिक रमणीय दृश्यको सुन्दरताले मोहनी लगायो ।’
यी दुई प्रतिनिधि विदेशी पर्यटक मात्र होइन, सौराहमा घुम्नमा आउने सबै पर्यटकले निकुञ्जको जीपमा घण्टौँ समय बिताउँछन् । निकुञ्जमा पर्यटक बढ्दा नजिकैको कुमरोज वन पनि बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्बिर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको कुमरोज मध्यवर्ती वन सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले बताए ।
जीप सफारीमा मयुर, चित्तल, रतुवा मृग, गौरीगाई, बँदेल, गोही, तथा विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । चितवनको पूर्वी सेक्टरअन्तर्गत पर्ने सौराहा आसपास पदमपुर गैंडाको उत्कृष्ट बासस्थान हो । बीस हजारी ताल, इचर्नी टापु, खोरसोर, बाघमारा वन, दूधौरा, कछुवानी र पूर्व कुमरोज गैंडाको राम्रो बासस्थान हो । निकुञ्जको पूर्वी सेक्टरमा करिब ६० वटा गैंडा अभिलेख गरिएको छ ।
सन् २०१५ देखि क्रियाशिल रुपमा नेचर गाईडमा कार्यरत नारायण रिजालले पहिला आफूसँग आउने धेरै स्वदेशी तथा विदेशी पर्यटकले हात्ती सफारी रोजेपनि अहिले ७० प्रतिशत पर्यटक जीप सफारीमै रमाउने बताउँछन् । ‘अहिले ३० प्रतिशत विदेशीले मात्रै हात्ती सफारी गर्छन्, सौराहा आउने आन्तिरक ५० प्रतिशत पर्यटकले हात्ती र जीप चढ्दै आएका छन्’ रिजालले भने, ‘वन्यजन्तु संरक्षणले हात्तीलाई माया गर्ने र जीपमा चढेर जनावर हेर्न कन्सेप्ट विकसित भएको छ ।’
सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका बासस्थान, नदी तटीय वन र सालका जंगल एकैसाथ अवलोकन गर्न सकिने भएकाले पनि विभिन्न प्रजातिका वन्यजन्तु अवलोकन गर्न सौराहाको जीप सफारी महत्वपूर्ण हुने होटल भिष्टा चितवनका कार्यकारी प्रमुख एवंम् पर्यटन व्यवसायी रमेश सिलवाल बताउँछन् ।
सौराहामा अहिले पर्यटक आगमन बढेको छ । मुलुककै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहा आन्तरिक र बाह्य पर्यटकको संख्या बढेसँगै होटल र पर्यटन व्यवसायमा चहलपहल बढेको छ । घुमफिर गर्ने नेपालीको बानी बढेसँगै सौराहा आउने नेपालीबाहेक भारतीय, चिनियाँ र युरोपेली पर्यटक धेरै रहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले बताए । सौराहासहितको चितवनका होटलको अकुपेन्सी अहिले ८० प्रतिशतभन्दा बढी भएको व्यवसायी बताउँछन् ।
सौराहामा आउने पर्यटकमध्ये करिब ७० प्रतिशतले जीप सफारी गरेर चितवन निकुञ्ज घुम्ने गरेको निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । तिवारीका अनुसार अहिले सौराहाबाट मात्रै नभई जीप सफारीका लागि कसराबाट २० वटा, मेद्यौलीबाट ९ वटा, माडीबाट एउटा, अमलटारीबाट ६ वटा र कुजौलीबाट २ वटा गरी ३८ वटा जीप थपिएका छन् । सौराहाबाट निकुञ्ज घुम्नका लागि ३२ भन्दा बढी जीप सञ्चालनमा छन् ।
सुरक्षित र सहजरूपमा वन्यजन्तु हेर्न पाइने भएकाले निकुञ्जको जीप सफारीमा पर्यटकको आर्कषण बढेको संरक्षणकर्मी एवं पर्यटन व्यवसायी टिका गिरी बताउँछन् । बाघ गैंडालगायत वन्यजन्तु अवलोकनका लागि यहाँको जीप सफारी उत्कृष्ट अवसर भएको निकुञ्ज जीप सफारीका अध्यक्ष हरिकृष्ण रेग्मीले बताए ।
निकुञ्जमा जीप सफारी गरेवापत गाइडसहित दुई हजार रुपैयाँ लाग्छ । पर्यटक प्रवेश गर्दा नेपालीलाई १५०, सार्क मुलुकका नागरिकलाई एक हजार रुपैयाँ तथा तेस्रो मुलुकका पर्यटकलाई दुई हजार थप शुल्क लाग्छ । एउटा जीप प्रवेश गर्दा निकुञ्जले पाँच हजार शुल्क लाग्दछ । सौराहा रेवानका पूर्वअध्यक्ष गोकर्ण गिरी पर्यटन र संरक्षण सँगसँगै गएकाले पनि सौराहाको आसपास क्षेत्रमा हात्ती र जीप सफारीमा पर्यटकले सहजै गैंडालगायत वन्यजन्तु हेर्न पाउने बताउँछन् ।
जीर्ण सडक, सीमित उडान समस्या :
देशैभरका जीर्ण सडक मर्मत सुधार हुन नसक्दा पनि पर्यटकको आगमनमा सम्भावना र अपेक्षाअनुसार वृद्धि हुन नसकेको गुनासो क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले गरे ।
चितवन आउने मेघौली विमानस्थल बन्द रहेको र भरतपुर विमानस्थलमा पनि सीमित उडान हुने गरेको छ । काठमाडौं–मुग्लिन सडक, पोखरा–मुग्लिन सडक र नारायणगढ–मुग्लिन सडकमा पनि समस्या रहेको उनले बताए ।
सौराहासहित चितवनमा १७० पर्यटकीय होटल र तिनमा आठ हजार भन्दा बढी पर्यटक बस्न सक्छन् । सुरुवाती दिनमा चितवनले हात्ती सफारी गरी गैंडा, बाघजस्ता जंगली जनावर अवलोकनका लागि ख्याति कमाए पनि अहिले जीप सफारी पर्यटकको पहिलो रोजाइ बनेको छ ।
नारायणी र राप्तीलगायतका नदीमा डुंगा सयर, थारू संग्र्रहालय र सांस्कृतिक कार्यक्रमले पनि सौराहामा पर्यटक आकर्षित भइरहेका छन् । धार्मिक क्षेत्र देवघाट, सूर्योदयका लागि सिराइचुली, सूर्यास्तको दृश्य हेर्न मेघौली, ऐतिहासिक किल्ला उपरदाङगढी र लामो झरना पनि चितवनमै पर्छ । चितवन राष्ट्रिय निकुञ्ज यहाँको मुख्य पर्यटकीय आकर्षण हो । यसमा वार्षिक डेढ लाखको हाराहारीमा पर्यटक आउने गरेका निकुञ्जको तथ्यांक छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस