म विद्यार्थी छँदा कहिल्यै वीरेन्द्र क्याम्पसमा पढिनँ । कहिल्यै ने.वि.संघ पनि भइनँ । नेपाली काङ्ग्रेसको नजिक पनि गइनँ । त्यसैले कैलाश कोइरालालाई प्रत्यक्ष रुपमा चिनिनँ । नचिन्नु मेरो दोष हो र ? तिनै कैलाश कोइराला हिजोआज साहित्यमा आएका छन् । होलान् साहित्यमा पनि राजनीतिको धङधङी बोकेकाहरु । तर म त्यसको वास्ता गर्दिनँ । साहित्य साहित्य हो, अरु केही होइन भन्ने धारणा छ मेरो । बेलाबेलामा विभिन्न सञ्चारमाध्यमबाट कैलाश कोइरालाको नाम र दुर्नाम भने सुनिराखेको हुँ । हरेक नाम सुनेकालाई चिन्नैपर्छ भन्ने कहाँ छ र ? यही २०८० सालको जेठताका एक दिन उनीसँग सम्पूर्ण किताब नारायणगढमा भेट भयो । मैले उनलाई व्यक्तिगत रुपमा नचिनेको कुरा बताउँदा उनले सहज रुपमा लिए । त्यसपछि थाहा भयो, उनको ‘राजव्यूह’ नामक उपन्यास छापिँदै रहेछ । त्यसपछि भने उनीसँग नारायणगढमा बेलाबेलामा भेट हुने गरेको छ ।
चितवनबासी सबैलाई थाहा छ, चितवनको राजनीतिमा सक्रिय युवा व्यक्तित्व हुन् – कैलाश कोइराला । नेपाली काङ्ग्रेसको पूर्व उपसभापतिसमेत रहेका कोइराला राजनीतिबाट एक्कासि साहित्यमा हामफालेका हुन् । उनी साहित्यमा आए लगत्तै उनको नवीनतम कृति ‘राजव्यूह’ उपन्यास २०८० छापिएर बजारमा आएको छ । यो उपन्यासमा महेश नामक एउटा राजनीतिकर्मीको जीवन भोगाइ आएको छ । समयका दृष्टिले यसमा वि.सं. २०३१ देखि २०७९ सम्मको अड्चालीस वर्ष आएको भए पनि मूलतः पछिल्लो एक दशक यसमा सशक्त रुपमा आएको छ ।
आफ्ना पति उमाकान्त शर्मा पञ्चायतविरोधी भूमिगत राजनीति गर्ने र घरमा ज्यादै कम बस्ने भएकाले छैटौँ सन्तान पेटमा आएपछि गर्भपतन गराउने इरादा लिएर पत्नी शोभादेवी गीतानगरबाट पैदल हिँडेर भरतपुर पुग्छिन् । डाक्टरलाई देखाउँछिन् तर गर्भपतन गराउनका लागि पैसा नपुगेपछि त्यत्तिकै घर फर्कन्छिन् । त्यसपछि उनले त्यो इरादा त्याग्छिन् र महेशको जन्म हुन्छ । उसको बुबा पञ्चायतविरोधी राजनीति गर्ने हुनाले बाल्यकालमा उसले निकै दुःख पाउँछ । त्यस्तो दुःख सत्तापक्षबाट मात्र नभएर सत्ताविरोधी कम्युनिष्टहरुबाट पनि पाउँछ । उनीहरुको घर जलाइन्छ । त्यसपछि चितवनको गीतानगर छोडेर पाल्पामा गएर एक वर्ष बिताएर पुनः गीतानगरमै फर्कन्छन् । पछि पञ्चायत ढलेपछि भने उनीहरु भरतपुरतिर बसाइँ सर्छन् ।
पिता उमाकान्त शर्माको राजनीति गर्ने लत छोराहरु प्रताप र महेशमा पनि सरेको हुन्छ । दाजु प्रतापको सल्लाहमा चितवनबाट राजनीति गर्नकै लागि भनेर महेश त्रिभुवन विश्वविद्यालय कीर्तिपुर जान्छ । त्यहाँ अनेक तिकडम गरेर संगठनको अध्यक्ष बन्छ । त्यति हुँदाहुँदै पनि स्व.वि.यु. निर्वाचनमा सभापतिको लागि टिकट पाउँदैन । त्यसपछि एकाएक कीर्तिपुर छाडेर ऊ चितवन फर्किन्छ । चितवन आएपछि ऊ विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा लाग्छ । उसले राजनीतिसँगै व्यापार व्यवसाय पनि गर्छ । पार्टी उपसभापति भएर पनि सभापति हुन पाउँदैन । त्यसपछि संसदीय निर्वाचनमा टिकट पाउन भरमग्दूर प्रयास गर्छ, तर त्यो दौडमा ऊ सफल हुँदैन । ऊ आफू मात्र नभएर उसको राजनीतिको गुरु प्रतापले समेत संसदीय चुनावमा टिकट नपाएका कारण केन्द्रीय नेताको विरुद्ध बागी उठ्छ र नराम्रोसँग हारेको कुरा पनि उपन्यासमा आएको छ । हेरौँ उपन्यासको अंश : दाइ साँच्चै बागी उठे । उनले आफ्नो बागी उम्मेदवारी घोषणा गरेपछि पार्टीमा तरङ्ग नै पैदा भयो । चितवनको हाम्रो क्षेत्रमा मात्रै नभएर सम्पूर्ण देशमा सनसनीपूर्ण खबर बन्यो । त्यसले पार्टीका कसैले नजित्ने आँकलन गरियो । वरिष्ठ नेताजीले पनि हार्नसक्ने आँकलन गरेर राष्ट्रिय दैनिकमा समाचार आउन थाले । (पृष्ठ, १०१)
यसरी हेर्दा सोझो तरिकाले महेशले राजनीतिमा भोगेका भोगाइ नै यो उपन्यासको मूल कथ्य हो भने अन्य रुपमा लिँदा उसले परिवारका अतिरिक्त अन्य विवाहित तथा अविवाहित महिलासँग गरेका यौन व्यवहार पनि उपन्यासमा आएका छन् । उसले पैसा तिरेर देशकै नाम चलेकी नायिकासँग पनि रात बिताएको कुरा गरेको छ । यस्ता समाजले खराब भन्ने काम गरेको कुरा गर्दा पनि उसमा कत्ति पनि विचलन आएको छैन । यसर्थ यो उपन्यास राजनीतिका नाममा कुकर्ममा लाग्ने आजका कुत्सित पात्रहरुप्रति लक्षित छ भन्न सकिन्छ । यसमा कैलाश कोइरालाको परिवारसँग सम्बन्धित घटनाको आधिक्य पाइने हुनाले उनलाई व्यक्तिगत रुपमा चिन्ने पाठक भने उपन्यास हो कि आत्मकथ्य ठम्याउन नसकेर रनभुल्लमा पर्ने सम्भावना पनि देखिन्छ ।
उपन्यासको अन्त्यतिर नायक महेश आफ्नो परिवारका कुरा र आफ्ना कमी कमजोरीमाथि दृष्टि लगाउँछ । ऊ आफ्नाबारेमा यस्तो भन्छ :
म तुहिसकेको बच्चा । धन्न बाँचेँ । आखिरमा बुबा–आमाको काममा म नै आउनु रहेछ । के म जन्मनुको सार्थकता यत्ति हो त ? के म मेरो परिवारको लागि मात्रै जन्मिएको हुँ ?
म मेरा खराब आदतहरुसँग टाढा भइसकेको छु आजभोलि । जीवनमा गल्ती गर्दै र त्यसलाई सच्चाउँदै आएको छु । बाँकी गल्तीहरुलाई भविष्यमा पनि सच्याउनेछु । जसरी बुवाको पान खाने आदत मरेको छ, त्यसैगरी मेरा खराब आदतहरु सुक्दै जानेछन् । (पृष्ठ, १६८)
यो उपन्यासको मुख्य पात्र अर्थात् नायक महेश हो । ऊ जातले बाहुन, पेसाले राजनीतिकर्मी र व्यवहारले स्वच्छन्द खालको छ । ऊ घरमा श्रीमती भएर पनि निर्धक्कसँग गर्लफ्रेण्ड लिएर हिँड्छ । उनीहरुका लागि प्रशस्त पैसा खर्च गर्छ । सुरुमा खराब भए पनि उपन्यासको अन्त्यमा आफू सुध्रिएको र अझै सुधारको मार्गमा लागेको कुरा उसले स्वीकार गरेको छ ।
नायक महेशले आफ्नो परिवेशको मात्र स्मरण गरेकाले उसका पिता उमाकान्त शर्मा, माता शोभादेवी, दाजु प्रताप, भाउजु, इन्द्र अंकल, महेशकी आफ्नै श्रीमती रमा र छोरी बढी मात्रामा आएका छन् । त्यस्तै गरी उपन्यासमा नायक महेशले बाल्यकालका साथीहरु खुसीराम, सन्तोष, उसका काका, काकी, छिमेकी आदिको स्मरण गरेको देखिन्छ । उसले कीर्तिपुर बसाइका क्रममा बहिनी बनाएको प्रगतिका कारण परिवारमा तनाव थपिएको पनि देखाइएको छ । त्यस्तै अन्य पात्रहरुमा उसकी गर्लफ्रेण्डहरु कोमल र संगीताको स्थान पनि उत्तिकै देखिन्छ भने कीर्तिपुरका साथीहरु अजय, अतुल, शंकर आदिको भूमिका पनि उपन्यासमा सम्झनयोग्य छ । यसमा त्यसका अतिरिक्त राजनीतिकर्मीहरुको ठाउँ ठाउँमा स्मरण गरिएको छ । बहुल पात्र भएको उपन्यास भएर पनि यो उपन्यासको समाख्याता, भोक्त र द्रष्टा भनेको महेश आफैँ हो ।
यो उपन्यासमा चुनावमा टिकट पाउनका लागि के कस्ता तिकडमबाजी गर्नुपर्छ ? भन्ने कुरालाई राम्ररी उतारिएको छ । आफूले विश्वास गरेको व्यक्तिले नै टिकट दिने बेलामा अरुलाई दिलाएपछि आकाङ्क्षीको मन कसरी भाँचिन्छ भन्ने कुरालाई यसले राम्ररी देखाएको छ । त्यस्तो स्थिति विद्यार्थी राजनीतिदेखि लिएर स्थानीय, प्रदेश तथा संसदीय चुनावमा पनि हुने कुरा यसले राम्ररी देखाएको छ । टिकट नपाउनेहरु बागी बनेर उभिने कुरा पनि यसले राम्ररी देखाएको छ । राजनीतिका खराबीहरुलाई कलात्मक रुपमा उतार्नु सक्नु यो उपन्यासको शक्ति हो ।
निःसन्देह ‘राजव्यूह’ सामाजिक उपन्यास हो । यसले राजनीतिकर्मीले गर्ने विविध खालका भोगाइ र राजनीतिमा हुने तिकडमहरुलाई मार्मिक रुपमा चित्रण गरेको छ । नायक महेशले आफ्नो जन्म वि.सं. २०३१ मा भएको कुरा गरेको छ भने बाल्यकाल सम्झँदै पञ्चायतकालको सम्झना गरेको छ । हेरौँ एउटा सन्दर्भ :
त्योबेला म चार–पाँच वर्षको हुँदो हुँ । चुनाव भएको–नभएको मलाई सम्झना छैन । तर, बुवाहरुले हारेको कुरा स्पष्ट सम्झना छ । बहुदलको पक्षमा निर्णय नआउँदा बुवा निकै निराश हुनुभयो । लुकीलुकी हिँड्नुपर्ने दिनको समाप्ति कल्पिनुभएको थियो बुवाले । तर, निर्दलले जित्नु उहाँ निरन्तर प्रशासनको आँखाको तारो भइरहनु थियो । (पृष्ठ, २६)
यो उपन्यासमा राजनीति मात्र होइन, कसरी एउटी युवती यौनकर्मी बन्छे भन्ने कुरालाई संगीताका मुखबाट अभिव्यक्त गरिएको छ । हेरौँ एउटा साक्ष्य :
त्यसको अर्को साल फेरि मेरो जीवनमा अर्को युवक आयो । ऊ पनि अघिल्लो प्रेमीझैँ पोखियो । मेरो शरीरलाई भोगिसकेपछि कहिल्यै नभेट्ने गरी टाढियो । यसरी म थुप्रैको प्रेममा परेँ । थुप्रैले मलाई बिहेको आशा देखाए । प्रत्येक पटक आशा लाग्यो । तर, उनीहरु स्वार्थ पूरा गरेर टाढिए ।
पुरुषहरु कतिसम्म पछि लाग्छन् र कति आशा दिलाउँछन्, ओहो ! त्यसैले मलाई आजभोलि धेरै आशा दिलाउने पुरुषहरु मन पर्दैनन् । (पृष्ठ, १५८)
यो उपन्यास राजनीतिका अतिरिक्त प्रेम, घृणा, यौन, द्वन्द्व, तिकडम आदिको समष्टि हो । यति हुँदाहुँदै पनि राजनीतिमा चुर्लुम्म डुबेको नायकले आफ्नो कथा भनेकाले यो मूलतः राजनीतिक विषयको उपन्यास हो । यसमा पञ्चायत कालदेखि सुरु भएर वर्तमानसम्मको चित्रण पाइन्छ । वर्तमानको कुरा गर्दा हालसालैको निर्वाचनसम्मको कुरा गरेको छ । पछिल्लो वर्णनमा लोकतन्त्र र गणतन्त्रकालका कुराहरु प्रशस्तै आएका छन् । यसरी यो उपन्यासमा वि.सं. २०३१ सालदेखि वि.सं. २०७९ सालसम्मका चितवन, पाल्पा र काठमाडौँका राजनीतिक परिवेश आएका छन् । तर यसभित्र माओवादी जनयुद्धका बारेमा भने जानेर हो वा नजानेर हो केही कुरा गरिएको छैन ।
यसको नायकले आफूलाई निकै स्मार्ट सम्झन्छ त्यसैले भन्न सकिन्छ ऊ घटनाहरु बिर्सने खालको पात्र होइन । तर उसले देशले भोगेको त्यो कालखण्डको सम्झना किन गरेन ? यो उपन्यासले करिब पाँच दशकको नेपाली राजनीतिक परिवेश चित्रण गरेकोमा वि.सं. २०५२ देखि २०६३ सम्म देशमा सञ्चालित माओवादी जनयुद्धलाई चटक्क बिर्सनु कति जायज हो ? यदि आख्यान मात्र हुन्थ्यो भने त्यो पनि सम्भव हुन्थ्यो होला, यहाँ त त्योभन्दा केही बढी छ । यसरी देशमा भएको त्यति ठूलो घटना र समयअवधिमाथि आँखा चिम्लनु कत्ति पनि सुहाउँदो छैन । यो नै यस उपन्यासको सबैभन्दा ठूलो सीमा हो । लेखकले यसरी लेख्दा आजभन्दा पचास वर्ष पछिका पाठकका लागि यो अध्ययनको विषय बन्छ कि बन्दैन ? राजनीतिबाट साहित्यमा हामफालेका कोइरालाले अर्को कृतिमा समयलाई यसरी फड्का लेख्ने हो भने कृति पठनीय र विश्वसनीय हुँदैन भन्ने कुरा राम्ररी बुझून् ।
उपन्यास लेख्न सजिलो छैन । पहिलो कृति त्यसमा पनि उपन्यास लिएर आएका कोइरालाको यो कृति भाषिक मिठास र विषयगत नवीनताका कारण चितवनको उपन्यासयात्रामा ‘राजव्यूह’ले पक्कै गतिलो छाप छोड्नेछ । यस्तो सशक्त उपन्यास ल्याएकोमा उपन्यासकार कैलाश कोइरालालाई हार्दिक बधाई छ । उनी अब साहित्यबाट पछि नहटून् । यो नवीनतम उपन्यासको अपार सफलताको कामना सहित छिट्टै अर्को कृति पढ्न पाइयोस् भन्दै कलम रोक्छु । भबतु सब्ब मङ्गलम् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस