काठमाडौं : नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सांसद टोपबहादुर रायमाझीको खोजी तीव्र पारेको छ।
फरार सांसदसम्म पुग्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले रायमाझीको पत्र संसद् सचिवालयसम्म पुग्ने व्यक्तिको खोजी सुरु गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीले वैशाख २५ गते संसद् सचिवालयमा आफू बिरामी भएर संसदमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। सोही पत्र बोकेर आउने व्यक्तिको खोजी सुरु गरिएको हो।
रायमाझीको पत्र बोकेर आउने व्यक्ति पत्ता लगाउन सिआइबीले आज सिंहदरबारस्थित संसद् सचिवालयबाट आज सिसिटिभी फुटेज संकलन गरेको छ।
प्रहरीले खोजी गरिरहेको अवस्थामा रायमाझीको पत्र संसद् सचिवालयमा आएपछि सिआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोधसहितको पत्र पठाएको थियो।
सोहीअनुसार सभामुखको कार्यकक्ष आसपासको सिसिटिभी सिआइबीलाई उपलब्ध गराइएको संसद सचिवालका सह प्रवक्ता दशरथ धमलाले थाहा खबरलाई जानकारी दिए।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगीमा संलग्न भएको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरासन्दीपसहित विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ। तर, पूर्वऊर्जामन्त्री रायमाझी भने हालसम्म फरार छन्।
यस प्रकरणमा रायमाझीसहित अन्य १० भन्दा बढी व्यक्तिहरुमाथि अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस