टोकियो, जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी अक्टोबर १ तारिखबाट जापानमा लागू भएको परिवर्तित जनजिबिकासंग सम्बन्धित नयाँ नियमको बारेमा जानाकारी गराउने प्रयास गरेका छौं, जुन यसप्रकार छन् ।
१ न्युनतम ज्याला बृद्धि : अक्टुबर १ तारिखबाट लागू हुनेगरी जापानमा न्युनतम ज्याला प्रतिघण्टा ३० येनबाट ३३ येनसम्म बढेको छ । जसअनुसार टोकियो-तोको न्युनतम ज्याला १ हजार ४१ येनबाट १ हजार ७२ येन भएको छ । यो बाहेक अन्य स्थानको न्युनतम ज्याला देहायअनुसारको हुने भएको छ ।
टेबुल
यो बाहेक अरु क्षेत्रको पनि ज्याला बढ्ने भएको छ । न्युनतम ज्यालाको कानून जापान सरकारले जापानमा काम गर्ने व्यक्तिको काम गर्ने अवस्था राम्रो बनाउने र न्युनतम तलबको ग्यारेन्टी गरी नागरिकको जीवनस्तर र जापानको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले बनाईएको कानून हो । त्यसैले सरकारद्वारा तोकिएको न्युनतम ज्यालाभन्दा थोरैमा काम लगाउनु अवैध हो । रोजगार सम्बन्धि सहमति पत्र बनाउदा न्युनतम ज्यालाको ख्याल गर्नुपर्दछ । इमिग्रेशन, हेल्लो वर्क, रोउदोउक्योकुमा कागजात बुझाउँदा न्युनतम ज्यालाको बिषयलाई ध्यानमा राख्नुपर्दछ ।
२ रोजगार बीमा प्रिमियममा वृद्धि : कम्पनीहरूले भुक्तान गर्ने रोजगार बीमा प्रिमियम यस वर्षको अक्टोबर १ देखि तलबको ० दशमलव ९ प्रतिशतबाट बढेर १ दशमलव ३५ प्रतिशत हुने भएको छ । हप्तामा २० घण्टाभन्दा बढी काम गर्ने व्यक्तिले रोजगारी बीमामा छिर्नुपर्ने हुन्छ । तलबबाट कटौती गरिने रोजगार बीमा प्रिमियम पनि काम गर्ने व्यक्तिको तलबको ० दशमलव ३ प्रतिशतबाट ० दशमलव ५ प्रतिशतसम्म बढ्ने छ । कोरोनाको प्रभावका कारण देशले तिर्ने सहयोग रकम बढेसँगै देशको आर्थिक अवस्था खस्किँदै गएकोले बीमा प्रिमियम बढाईएको हो ।
३. आंशिक कामदारहरूको सामाजिक बीमामा सहभागिता सम्बन्धमा : यो वर्षको अक्टोबर १ देखि १०० भन्दा बढी कर्मचारी भएको कम्पनीमा हप्तामा २० घण्टाभन्दा बढी काम गर्नेहरूले कम्पनीको सामाजिक बीमामा छिर्नुपर्दछ ।
क. १०० भन्दा बढी कर्मचारी भएको कम्पनीमा काम गरेमा
ख. हप्तामा २० घण्टाभन्दा बढी काम गरेमा
ग. कम्पनीमा दुई महिनाभन्दा बढी काम गरिरहेका वा काम जारी राख्ने योजनामा रहेका व्यक्तिहरूको हकमा
घ. मासिक तलब ८ मान ८ हजार येन वा सोभन्दा बढी भएमा
ङ. विद्यार्थी बाहेक अन्य भएमा
आंशिक काम गरिरहेको भएता पनि माथि उल्लिखित बुँदाहरुसंग मेल खानेहरुले कार्यरत कम्पनीमार्फत सामाजिक बीमामा छिर्नुपर्ने नयाँ प्रावधान रहेको छ ।
तलबबाट काटिने सामाजिक बीमा प्रिमियमको हकमा स्वास्थ्य बीमा तलबको ४ दशमलव ९० प्रतिशत नर्सिङ हेरचाह बीमा (४० वर्ष वा सोभन्दा माथि उमेर भएमा ) तलबको ० दशमलव ८२ प्रतिशत, कर्मचारीको निवृत्तिभरण (कोसेइनेनकिन) तलबको ९ दशमलव १५ प्रतिशत छ । कुल जम्मा करीव १५ प्रतिशत रकम सामाजिक बीमा प्रिमियम कटौती हुने भएको छ ।
४ बच्चा जन्मेपछि बाल हेरचाह बिदा सम्बन्धमा : बच्चा जन्मेपछि बाल हेरचाह गर्न बच्चाको बाबुका लागि बिदा सम्बन्धि नयाँ नियम लागू हुने भएको छ । जसअनुसार बच्चा जन्मेको ८ हप्ता भित्र ४ हप्ता बिदा लिन सकिन्छ । ४ हप्ताको बिदालाई २ पटक गरेर पनि लिन सकिन्छ ।
बिदा लिदा कम्पनीको नियमअनुसार दुई हप्ता वा एक महिना अगावै कम्पनीलाई पूर्व जानकारी गराउनुपर्दछ । कामबाट बिदा लिदा कम्पनीले तपाईलाई तलब दिदैन तर एक वर्ष भन्दा बढी रोजगार बीमामा रहेकाहरूको हकमा भने सरकारबाट राहत प्राप्त गर्न सकिन्छ । प्राप्त हुने उक्त राहत तलबको ६७ प्रतिशत हो । यो बच्चा जन्मेको बेलामा बच्चाका बाबुले लिनसक्ने बिदा सम्बन्धि नियम हो । यसका अतिरिक्त सामान्य बाल हेरचाह बिदाको नियम अनुसार पनि कामबाट बिदा लिन सकिने छ ।
सामान्य बाल हेरचाह बिदा सम्बन्धि नियममा समेत समान्य परिवर्तनहरू हुने भएको छ । जसअनुसार बच्चा जन्मेको समयदेखि बच्चा १ वर्ष नपुग्दासम्म बाबु र आमाले बाल हेरचाह बिदा २ पटकमा विभाजन गरी लिन सक्नेछन् । जसले गर्दा काम गर्न चाहनेहरूले काम गर्न मिल्ने भएको छ । कम्पनीले बाल हेरचाह बिदाको तलबको भुक्तानी गर्दैन, तर एक वर्ष भन्दा बढी रोजगार बीमामा रहेकाहरूले सरकारबाट राहत प्राप्त गर्न सक्छन् । सरकारबाट प्राप्त गर्ने राहत सुबिधा १ सय ८० दिनसम्मको बिदाका लागि तलबको ६७ प्रतिशत र १ सय ८० दिनभन्दा बढीको लागि तलबको ५० प्रतिशत हो । यो सामान्य बाल हेरचाह बिदाको नियम हो । बुवाको बाल हेरचाह बिदाको नियमसँग मेल खाने गरी कामबाट बिदा लिन सक्नुहुन्छ ।***@समुन्द्रपारी
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस