चितवन, नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले माडीमा विद्युत सेवा नियमित गर्न निर्देशन दिनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ चितवनको ज्ञापनपत्र बुझेपछि चनौली वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिनुभएको हो । चनौलीबाट चितवन राष्ट्रिय निकुञ्जमा भूमिगत तारहुदै माडी लगिएको विद्युत निकुञ्जभित्रको तारमा बेलाबखत बिग्रिने गरेको छ । माडीमा पछिल्लो ४ दिन विद्युत अवरुद्ध भएको थियो ।
“निकुञ्ज खण्डमा वैकल्पिक लाइन विछ्याउन ध्यानाकर्षण गराएका छौँ”, युवासंघ चितवनका उपाध्यक्ष रामचन्द्र लम्सालले भन्नुभयो, “महानिर्देशकले चनौली वितरण केन्द्रका प्रमुखलाई तत्काल प्रक्रिया अगाडी बढाउन निर्देशन दिनुभएको छ ।” लम्सालका अनुसार महानिर्देशक कुलमान घिसिङले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तत्काल गरेर टेण्डर प्रक्रियामा जान निर्देशन दिनुभएको छ । “बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ”, लम्सालले भन्नुभयो, “माडीबासीलाई सधै उज्यालोमा बस्ने वातावरण बनाउने आश्वासन दिनुभएको छ ।”
ज्ञापनपत्र बुझाउन युवासंघका अध्यक्ष संजीव लामिछाने, इञ्चार्ज इश्वर रिमाल, उपाध्यक्ष रामचन्द्र लम्साल, सचिव इश्वर अधिकारी, एकिकृत समाजवादीका जिल्ला सदस्य महेश लम्साल लगायतको टोली काठ्माण्डौ पुगेको थियो । सो टोलीलले राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेललाई समेत ज्ञापनपत्र बुझाएको छ । २०५७ मा सुरु भएको माडीमा विद्युत आयोजना २०६७ सालदेखि नयाँ परियोजनाका रुपमा गती लिएको थियो । भरतपुर–चनौली–माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ कात्तिकमा माडीमा विद्युत पु¥याएको थियो । माडी सबस्टेसनमा २०७२ माघ दोस्रो साता पहिलो पटक विद्युत चार्ज भएको थियो ।
“भूमिगत तारमा खराबी आउँदा समस्या पहिचान नहुदासम्म एक हप्तासम्म विद्युत सेवाबाट वञ्चित हुनुपर्ने अवस्था छ”, लम्सालले भन्नुभयो, “वैकल्पिक तार राखिए एउटा लाइनमा समस्याहुदा अर्कोमा सिफ्ट गर्न सहज हुनेछ ।” निकुञ्जले भूमिगत तार विछ्याउनका लागि इआइए अध्ययनका लागि समेत अनुमति नदिएपछि प्रक्रियानै अगाडी बढ्न पाएको छैन । परियोजना कार्यान्वयनका बेला भएकै इआइएका आधारमा वैकल्पिक भूमिगत तार विछ्याउन पाउनुपर्ने अडानमा प्राधिरकण रहेको छ । वर्षेनी ५–६ पटक निकुञ्जखण्डको तारमा खराबी आउदा माडीमा विद्युत सेवा अवरुद्ध हुदै आउने गरेको छ । युवासंघले वैकल्पिक भूमिगत तार विछ्याउने काम तत्काल सुरु नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस