काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो ।
आज काठमाडौँका ११ वटा नगरपालिका मध्ये १० वटामा नगर अधिवेशन हुँदैछ । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले शनिबार अधिवेशन नहुने काठमाडौँका निर्वाचन अधिकृत नरहरि आचार्यले बताए ।
दक्षिणकालीको मोहन बस्नेत सभापतिका उम्मेदवार देखिएका छन् । दक्षिणकालीका मेयर समेत रहेका उनी प्रकाशमान सिंह निकट हुन् । संस्थापन समूहका श्याम कार्कीले बस्नेतलाई समर्थन गरेपछि उनी सर्वसम्मत सभापति बन्ने देखिएको छ । त्यस्तै चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने देखिएको छ ।
काठमाडौँमा वर्तमान सभापति शेरबहादुर देउवा र सभापतिका दाबेदार प्रकाशमान सिंहको समूहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँमा जबरजस्त उपस्थिति भएका प्रकाशमान सिंहलाई नेता गगन थापाको साथ छ । कृष्णप्रसाद सिटौला समूहका छोडेका थापाले काठमाडौमा सिंहसँग बलियो साझेदारी गरेको देखिन्छ ।
यता सिटौला समूहका नेता भीमसेनदास प्रधानले भने सभापति देउवा समूहलाई सहयोग गरेका छन् । नेताहरुका अनुसार काठमाडौँमा अन्य पार्टीबाट काँग्रेसमा आएका अधिकांशले देउवा–सिटौला पक्षलाई साथ दिएको अवस्था छ ।
काठमाडौँका पूर्व जिल्ला सभापतिसमेत रहेका प्रधानको प्रभाव राम्रो मानिन्छ । नवप्रवेशी र प्रधानको साथमा सिंह–थापा समूहलाई चुनौती दिने देउवा पक्षको रणनीति छ । तर थापा आफूसँग जोडिएपछि आफ्नो समूह थप बलियो भएको सिंह पक्षको बुझाइ छ । काठमाडौँका पालिकामा आफू निकट नेतृत्व ल्याउन दुवै पक्षको जोडबल छ ।
नेपाली कांग्रेसको काठमाडौंमा हुने पालिका अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ भने केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुङ्ग्याउन सकेको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस