
काठमाडौँ । दसैँ–तिहारलगायत चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको संख्या न्यून रहेको छ। कोभिड–१९ का कारण न्यून यात्रुले टिकट काटेको पाइएको हो।
सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन्। कोभिड–१९ का कारण घर फर्किने यात्रुको संख्या कम भएको हुन सक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
‘गत वर्ष यात्रुको चाप कम अग्रिम टिकट खुलाइएको थिएन,’ उनले भने। यस वर्ष यात्रुलाई घर फर्कन समस्या नहुने उनको भनाइ छ।
यस पटक टिकट काउन्टरमा यात्रुको भीडभाड छैन। विगत वर्षमा दसैँमा घर फर्किनेमध्ये विद्यार्थीको संख्या अत्यधिक हुन्थ्यो। यस वर्ष भने विद्यालय र क्याम्पस बन्द रहेका कारण उपत्यकामा विद्यार्थीको संख्या न्यून छ।
कतिपयले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै उपत्यका छाड्न नचाहेको पाइएको सिटौलाले बताए। उनले भने, ‘घटस्थापना नकुरेर अहिले नै घर फर्कन हामीले आग्रह गर्दै आएका छौँ।’
सवारी साधनको नियमित अनुगमन भइरहेको र चाडपर्वलाई लक्ष्य गरेर यसलाई बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए।
थोरै संख्यामा यात्रुले अनलाइन टिकट काटेका छन्। पोखरा, लुम्बिनीलगायत ठाउँ जान चाहने पर्यटकले अनलाइन टिकट काटेको पाइएको छ। यात्रुको सहजताका लागि उपत्यकाका नागढुंगा, कलंकी, बसपार्क, माछापोखरी, चाबहिल, गौशाला, सातदोबाटो, बल्खुलगायत १४ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ।
‘ट्राफिक प्रहरी र यातायात विभागले संयुक्त रूपमा अनुगमन गरिरहेका छन्,’ भुसालले भने।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस