
चितवन भदौ। नेकपा एकीकृत समाजवादीको चितवन जिल्ला कमिटी घोषणा गरिएको छ ।
चितवनका नेता तेजेन्द्रबहादुर खड्काले माधव नेपालको साथ छाडेका छन् । उनी एमाले विवादमा माधव-खनाल समूहको समानान्तर कमिटीका अध्यक्ष थिए ।
शुक्रबारको नेकपा (एकिकृत समाजवादी) चितवनको जिल्ला र भरतपुर महानगर कमिटी घोषणा कार्यक्रममा उनी देखा परेनन् । स्रोतका अनुसार कमिटीको अन्तिम नामावली तयार पार्दासँगै रहेका खड्काले एक्कासी भेला स्थगित गर्न आग्रह गरेका थिए । उनी २०७३ मा एमाले चितवनको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमले डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको छ । चितवन कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने (लब्ली), सचिवमा केपि लामिछाने र सह सचिवमा दिव्या शर्मा आचार्य रहेका छन् ।
यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । महानगर कमिटीको उपाध्यक्षमा केशवराज पोख्रेल, सह सचिवमा सुवास पण्डित रहेका छन्। सचिवको नाम टुंग्याउन बाँकी रहेको बताइएको छ ।
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी इन्चार्ज केदार न्यौपानेले नवगठिक जिल्ला कमिटी र महानगर कमिटीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । पार्टीका केन्द्र सदस्य तथा प्रदेश सांसद राजेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल, प्रदेश सांसद पार्वती सिलवाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष साकार लामा लगायतले मन्तव्य राखेका थिए ।
सूर्य चिन्हले भोट जितिँदैनः राजेन्द्र पाण्डे
नेकपा एसका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले जनता मत जित्न चुनाव चिन्ह नै महत्वपूर्ण नहुने जिकिर गरेका छन् । नेता, कार्यकर्तालाई चितवनमा सम्बोधन गर्दै उनले भने, ‘तपाईं जनताको घरदैलोमा पुगेपछि आज भन्लान् सूर्य चिन्ह छोड्न सकिन्न । सूर्य चिन्ह छान्ने कि मलाई छान्ने भनेर सोध्नुस् न । हामीले नै चिनाएको हो सूर्य चिन्ह ।’
पार्टीलाई शक्तिशाली बनाउन सबै आआफ्नो ठाउँबाट लाग्न उनले आग्रह गरेका छन् । यो पार्टी नै होइन पार्टी नै बन्दैन भनेर प्रचार गर्ने व्यक्तिहरु रहेको बताउँदै उनले यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरे ।
माधव नेपालको साथ छाडी एमालेमै रहेकाहरु प्रति लक्ष्ति गर्दै उनले भने, ‘केही साथीहरुले माधव नेपाललाई धोका दिएका छन् । सुरुमा हामी साथमा छौं अघि बढ्नु भनेर पछि धोका दिए । धोका दिनेलाई उनीहरुले पनि कुनै दिन धोका पाउँछन् । धोका दिनले धोका पनि खान्छ हैन र ?’
नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीको नेतृत्वमा बसेर नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सक्ने नदेखेर आफूहरुले अर्काे पार्टी बनाएको उनले बताए । ओली जसरी पनि कम्युनिष्ट आन्दोलन सखाप पार्न लागेको पाण्डेको आरोप छ ।
ओलीले आफूहरुलाई कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई सरकारमा पु-याउने लाल गद्दार भनि आरोप लगाएको बताउँदै उनले कम्युनिष्ट सरकार ढल्नुमा ओली नै प्रमुख जिम्मेवार रहेको बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस