
भदौ, काठमाण्डाै। नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । साेमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल/मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य बढाएकाे हाे ।
निगमले पेट्राेल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएकाे हाे । अब पेट्राेल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ कायम भएकाे छ ।
यस्तै खाना पकाउने एलपी ग्यासमा पनि निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाएकाे छ । अब प्रति सिलिन्डरकाे मूल्य एक हजार चार सय ५० रुपैयाँ पुगेकाे छ ।
हवाई इन्धनमा आन्तरिकतर्फकाे मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएकाे र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलाेलिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलाेमिटर पुर्याएकाे निगमकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्दै आइरहेकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा बढ्यो
यो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ६.१२ डलर प्रतिब्यारेल घटेको छ । आयल निगमले पछिल्लोपटक ३० असार (१४ जुलाई)मा मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ७४.५२ डलर प्रतिब्यारेल थियो । एक महिनापछि ७ भदौ (२३ अगस्ट)मा पुनः मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ६.१२ डलरले घटेर ६८.४० डलर प्रतिब्यारेल कायम भएको छ ।
मूल्य घटेपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पनि आयल निगमलाई पछिल्लोपटक ३२ साउनमा नयाँ मूल्य पठाउँदा पेट्रोल र डिजेल क्रमशः ३० पैसा र ७५ पैसा घटाएर पठाएको छ । त्यसअघि १७ साउनमा पनि नयाँ मूल्य पठाउँदा अघिल्लोको तुलनामा पेट्रोल ९९ पैसा र डिजेल एक रुपैयाँ चार पैसा घटेर आएको थियो ।
यसरी एक महिनाको अवधिमा आइओसीले पेट्रोल एक रुपैयाँ २९ पैसा र डिजेल एक रुपैयाँ ७९ पैसा सस्तो मूल्यमा पठाइसकेको छ । तर, निगमले यसबीचमा दुईपटक गरेर पेट्रोल र डिजेलमा चार–चार रुपैयाँ मूल्य बढाएको छ ।
खासगरी अमेरिकाले अहिले कच्चा तेलको भण्डारण बढाएको छ । त्यस्तै, अमेरिकी अर्थतन्त्र नकारात्मक बन्दै गएको र कोरोना भाइरसको डेल्टा भेरियन्टको त्रास बढ्दै गर्दा फेरि एकपटक विश्व अर्थतन्त्र धराशयी हुने तथा पेट्रोलियमको माग घट्ने प्रक्षेपणका आधारमा ब्रेन्टक्रुड आयलको मूल्य घटिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा छिमेकी भारतमा पनि तेल सस्तिन थालेको छ । पछिल्लो एक सातामा मात्रै भारतमा आइओसीले डिजेलको मूल्य चारपटक गरेर भारु ८० पैसा घटाइसकेको छ भने पेट्रोलको मूल्य स्थिर राखेको छ । तर, नेपाली बजारमा आयल निगमले अन्तर्राष्ट्रिय बजारको घट्दो मूल्यअनुसार सहुलियत दिनुको सट्टा मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पारेको छ ।
अझै घाटा भएको दाबी
आयल निगमले एक विज्ञप्ति जारी गरेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको तर्क गरेको छ । मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा ९६ करोड नौ लाख रुपैयाँ नोक्सान हुने प्रवक्ता उपाध्यायले दाबी गरे । उनका अनुसार मूल्यवृद्धि नगरेको भए निगमले एक अर्ब १५ करोड २२ लाख रुपैयाँ घाटा सहनुपर्ने स्थिति थियो । उनले भने, ‘मूल्यवृद्धिले केही राहत भएर घाटा घटेको मात्र हो । अहिलेको मूल्यवृद्धिले हामीलाई नाफामा लगेको छैन ।’
मूल्यवृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलमा २.६४ रुपैयाँ प्रतिलिटर नोक्सान रहेको दाबी गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी प्रतिसिलिन्डर चार सय २० रुपैयाँ नोक्सान रहेको निगमको दाबी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस