भरतपुर अस्पताल प्रशासनले मृतक व्यक्तिका शवमा नाम र ठेगाना उल्लेख गर्ने भएकाले उक्त विवरण नहेरी शव लैजानु र शव दिँदा ख्याल गर्नुपर्ने प्रहरी पनि चनाखो नहुनुले उक्त घटना भयो।
साउन, भरतपुर। रातिको १ बजेको थियो । भरतपुर अस्पतालको शवगृहनजिक प्यासेजमा एउटा शव थियो । शव लैजानका लागि आफन्तले शववाहन एम्बुलेन्स बोलाए । उनीहरुको हातमा मृत्यु विवरणसम्बन्धी कागजपत्र थियो ।
शवलाई गाडीमा राखियो । आफन्तले एम्बुलेन्स चालकलाई गोरखा, दसकिलोबाट भित्र छेपेटारनजिक लैजाने हो भने । सुनसान रातमा शव बोकेको गाडी चार जना आफन्तसहित मुग्लिन कटेर आँबुखैरहनी हुँदै दसकिलो पुग्यो । मृतकको घर अझै माथि भएकाले गाडी छेपेटारतिर मोडियो ।
उकालोमा गाडीले नतानेपछि चालकले फोरह्वील लगाउँदै थिए । कुनै एक जना आफन्तको मोबाइलमा घण्टी बज्यो । उक्त फोन अस्पतालबाट गएको रहेछ । अस्पतालबाट आएको फोनमा छोटो कुराकानी नहुँदै गाडी रोक्न भनियो । तपाईंहरुले लगेको शव तपाईंको मान्छेको होइन भन्ने फोन पुगेपछि सबै चकित परे ! सबैजना आपसमा मुखामुख गर्न थाले । शव फरक परेपछि सँगै गएका आफन्त झरे र अरु सम्बन्धित मानिसहरु गाडी चढेर आए ।
फरक व्यक्तिको शव बोकेर घरनजिक पुगेका उनीहरु तत्कालै गाडी फर्काउन बाध्य भए । घरनजिकै पुगेको शव सोही गाडीमा फिर्ता भयो । राति १ बजे गोरखा हिँडेको एम्बुलेन्स बिहान ७ नबज्दै भरतपुर आइपुग्यो । भरतपुर आएर आफन्तले बल्ल आफ्नो मृतकको शव लिएर गए । घटना बुधबार बिहान १ देखि ६ बजेसम्मको हो ।
प्रहरी, आफन्त वा अस्पताल प्रशासन कसको लापर्बाहीबाट यस्तो घटना भयो भन्ने कुनै आधिकारिक धारणा आएको छैन ।
मृतक भनिएका गोरखाका ती व्यक्तिको शव आइसियूमै थियो । तर, आफन्तले आफ्नो नातेदारको शव रहेको भन्दै अस्पतालको शवगृहनजिक रहेको शव उठाएर गाडीमा हाल्नु गलत थियो वा शव हाल्ने बेलामा प्रहरी नहुनु गलत थियो, त्यो बहसको विषय बनेको छ । अस्पतालको गल्लीमा राखिएको र गोरखा लगिएको भनिएको शवका आफन्तले आफ्नो मान्छेको शव खोजेको तर नभेटेपछि शव साटिएको विषयमा सूचना सार्वजनिक भएको पाइएको छ ।
यस घटनामा भरतपुर अस्पताल प्रशासनले भने आफूहरुले मृतक व्यक्तिका बारेमा हरेक शवमा नाम र ठेगाना उल्लेख गर्ने भएकाले उक्त विवरण नहेरी शव लैजानु र शव दिँदा ख्याल गर्नुपर्ने प्रहरी पनि चनाखो नहुनुले उक्त घटना भएको जनाएको छ ।
आफ्नो कमजोरी सार्वजनिक हुने भएपछि भरतपुर अस्पतालमा खटिएका प्रहरीले भने शव साटिएको विषयमा कुनै घटना नै नभएको भन्दै सूचना लुकाएको छ । जिल्ला प्रहरीका डिएसपी नरहरि अधिकारीले पनि घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए ।
कोरोनासँग सम्बन्धित मृत्यु घटनामा शव व्यवस्थापनमा सेना र प्रहरीको जिम्मेवारी रहन्छ । तर, आफन्तले शव लैजाने भनेपछि पक्कापक्की गर्न घटनास्थलमा रहेका प्रहरी पनि शव गाडीमा हाल्ने बेलामा नभएको पाइएको छ ।@echitwanpost
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस