साउन, काठमाडौं। शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएको १३ दिन भइसक्दासमेत मन्त्रिपरिषद् बिस्तारबारे अन्यौलता कायमै छ। सत्तामा गएका काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच सरकारमा सहभागी हुन चाहनेको संख्या धेरै हुँदा मन्त्रिपरिषद् बिस्तार प्रभावित भएको हो।
सरकार सहभागी हुनेको नाम टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रलाई हम्मेहम्मे परेको छ। उता पार्टीको आधिकारिकता विवाद उत्कर्षमा पुगेका कारण जसपाको उपेन्द्र यादव पक्षले पनि आफ्नातर्फबाट नाम सिफारिस गर्न सकेको छैन।
सरकारका न्यूनतम साझा कार्यक्रम तथा सहभागीहरूको नाम टुंगो लगाउन काँग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन भए पनि त्यसले काम गर्न सकेको छैन। मन्त्रिपरिषद् बिस्तार कहिले हुन्छ भन्ने प्रश्नमा खड्का आफूलाई त्यसबारे केही जानकारी नभएको बताउँछन्।
यद्यपि प्रधानमन्त्री देउवाले आजै स्वास्थ्यमन्त्री नियुक्ति गर्ने तयारी गरेको बताइएको छ। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रधानमन्त्री नै आलोचित हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्र भए पनि विभागीय जिम्मेवारी दिने मनस्थिति प्रधानमन्त्री देउवाले बनाएका हुन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयमा दाबी प्रस्तुत गरेको सत्तारूढ घटक जसपालाई मन्त्रीको नाम दिन आग्रह गरिसकेका छन्।
तर, जसपाले निर्वाचन आयोगबाट दलको आधिकारिकतासम्बन्धी टुंगो नलाग्दासम्म मन्त्री तोक्ने अवस्थामा नरहेको जनाएको छ। त्यसैले स्वास्थ्य मन्त्रालयको नेतृत्व काँग्रेसले नै गर्ने सम्भावना बढेको छ। बालुवाटार स्रोतले कोभिड संकटका बेला स्वास्थ्य मन्त्रालय नै नेतृत्वविहीन हुँदा त्यसको नकारात्मक प्रभावले सरकारको छविसमेत बिग्रने र जनस्वास्थ्यमा प्रभावकारी काम नहुने बुझेर प्रधानमन्त्री देउवा एक जना मात्र भए पनि मन्त्री नियुक्तिको तयारीमा लागेको बतायो।
‘अन्य मन्त्रालयको विषयमा त अझै निर्णय गर्ने अवस्थासम्म पुगिसकेको अवस्था छैन। तर, स्वास्थ्य मन्त्रालयको नेतृत्व आजै तोक्ने तयारी बुझेको छु,’ स्रोतले भन्यो, ‘त्यसैले कसको नेतृत्व हुन्छ भन्ने कुरा जसपाले मन्त्रीको नाम दिन सक्छ कि सक्दैन भन्नेमा भर पर्छ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस