“चितवन मेडिकल सिटीमा रोगले भन्दा पनि उपचारको अभाबले बिरामीले ज्यान गुमाउनु भनेको भरतपुर महानगरकै आफूमै लज्जाको कुरा हो। यस बिषयमा सोचियन भने भोलिका दिनमा यो घटना नदोरियला भन्न सकिन्न, सम्बन्धित निकायको ध्यान पुग्नु जरुरि छ”।
भदौ, चितवन । मेरो नाम कृष्ण भुसाल हो । भरतपुर महानगरपालिका वडा नम्बर-११ मा घर छ । मेरी १८ वर्षीया छोरी सन्ध्याको उपचार अभावमा कोरोना संक्रमणका कारण निधन भयो ।
छ दिनअगाडि घरमा लडेपछि चिउडोमा सामान्य घाउ लाग्यो । जिल्लामा निषेधाज्ञा जारी । अर्कोतर्फ कोभिड-१९ को त्रास । ठूला अस्पतालहरुमा लैजाँदा कोभिड-१९ को रिपोर्टविना उपचार नपाउने भएपछि मैले स्थानीय मेडिकलमा लगें । त्यहाँ उपचारपछि घरमा पनि सानो छोरीको सहयोगमा सामान्य ड्रेसिङ गरिदिएँ ।
तर, घटना हुनुभन्दा अघिल्लो दिन छोरीले असजिलो महसुस गरेको थाहा पाएँ । बेहोसजस्तै धेरै सुत्ने गरिन् । त्यसपछि कोभिड-१९ परीक्षणका लागि भरतपुर अस्पतालमा फोन गरें । स्वाब झिक्ने समय सकियो भन्ने जानकारी पाएँ । राति अति अप्ठेरो भयो भनेपछि ठूला अस्पतालमा लैजाने निर्णयमा पुग्यौं ।
यति धेरै एम्बुलेन्सलाई फोन गरें । कुनै तयार भएनन् । पछि साथीहरुलाई भनेपछि जसोतसो एम्बुलेन्स पाइयो । तुरुन्तै नेसनल सिटी अस्पताल भरतपुर लगेँ । त्यहाँ प्रेसर, मुटुको धड्कन, श्वासप्रश्वास जाँचपछि स्लाइन पनि दिइयो ।
त्यसपछि आइसीयूमा लैजान भनियो । मन आत्तियो । के गरौं र कसो गरौं भयो । भएजतिका सबै आइसीयू, भेन्टिलेटर सेवा दिने अस्पतालहरुमा फोन गरें । कसैले बिरामी ल्याउनुहोस् भनेन । अस्पतालहरु सबैमा फोन गरेपछि पनि बेड नभएको उत्तर आएपछि साथीभाइहरुसँग हार-गुहार गरें ।
चितवनले मेडिकल सिटीको उपमा पायो । तर, जब आपत पर्छ अनि थाहा हुँदोरहेछ, यसको यथार्थ अर्थ भन्ने । दुईओटा ठूला मेडिकलदेखि कुनै अस्पताल थिएन, मैले फोन नगरेको । तर, कसैले बेड छ भनेन । साथीभाइ र शुभेच्छुकको पहलमा बल्ल तल्ल नारायणी सामुदायिक अस्पतालमा लगें । लग्नासाथ ‘नराख्ने’ भन्नुभो । फेरि, अस्पतालमा अग्रजहरुलाई भन्न लगाएँ ।
त्यसपछि सिटी र एक्सरे भयो । सिटी ठिक देखियो । एक्सरेमा खराब छ भने । तुरुन्तै आइसीयूमा लैजान सुझाए । उताको अस्पतालले पनि त्यही भनेर यहाँ ल्याएको थिएँ । यहाँ पनि त्यही भने । मलाई रिस पनि उठ्यो । मन पनि आत्तिरहेकै छ । यति ठूलो अस्पताल छ, ‘यहीँ होला नि आइसीयू’ भनें । अनुयविनय गरें । तर, कसैले सुनेन ।
‘आइसीयू छ तर डाक्टर हुनुहुन्न, आइसोलेसन र क्वारेन्टिनमा हुनुहुन्छ’ भने । यति भनेपछि मैले जिद्दी गर्ने कुरा भएन । धेरै साथीहरु र अग्रजलाई भनेपछि सरकारी अस्पतालको इमरजेन्सीमा ल्याएँ । बिहानको ११ बजिसकेको थियो ।
त्यहाँ पनि भर्ना गर्न आनाकानी गर्नुभयो । पछि दबाब नै दिएपछि बल्ल भर्ना गरिदिनुभयो । त्यसपछि बल्ल इमरजेन्सीमै राखेर भएपनि उपचार भयो । म बाहिर आएँ । छोरीको बिग्रँदो अवस्थाले म विछिप्त थिएँ । भित्र के-के भयो, म बाहिर रुन थालें । साथमा भाइ मुकुन्द, बहिनी-ज्वाइँ, परिवार हुनुहुन्छ । सबै आत्तिएका छन् ।
इमरजेन्सीमा राखेर उपचार हुँदै गर्दापनि कतै आइसीयू र भेन्टिलेटर खाली छ कि भनेर फोन घुमायौं । तर, न त सरकारी अस्पतालमै बेड खाली पाइयो, न अन्यत्र । अनि, प्रश्न गर्न मन लाग्यो ? के साँच्चै चितवन मेडिकल सिटी हो त ? के रहेछ यसको अर्थ ? सरकारी अस्पतालमै पर्याप्त आइसीयू र भेन्टिलेटर छैन ।
यस्तो भयावह स्थिति आइसक्दा पनि गोष्ठी, छलफल, गफगाफमा सीमित देखिन्छन्, सरोकारवाला । एक्टिभ रेस्पोन्स टिम भरतपुर महानगरपालिकामा तत्काल आवश्यक छ ।
त्यसपछि दिउँसो ३ः३० बजे नानीको जीवन नरहेको खबर सुनाए । आइसीयूसम्म पनि जान नपाएर इमरजेन्सीमै अन्तिम सास गयो ।
मुटु टुक्रा-टुक्रा भयो । आँशुको धारा बगे । सानो घाउ लिएर अस्पताल आएको नानीलाई यो के भयो ? कसरी भयो ? अन्योलता छायो । प्रश्न उब्जियो । चिकित्सककै सल्लाहमा कोभिड-१९ परीक्षणका लागि स्वाब दिइएको थियो । साँझ रिपोर्ट आयो, कोरोना संक्रमण पोजिटिभको ।
मनले केही सोच्नै सकेन । घरमा बसिरहेकी छोरीलाई संक्रणम कहाँबाट भयो ? न कुनै लक्षण थियो यसअघि । रिपोर्ट आएपछि संक्रमण भएको थाहा भयो । मेरो छोरीसँगै अरु दुईजनाको पनि सोही दिन निधन भएको रहेछ ।
कोभिड-१९ कहाँबाट सरयो त म भन्न सक्दिनँ । तर, अहिले जताततै कोभिड-१९ छ भन्ने लाग्छ । इमरजेन्सीमा सबै एकै ठाउँमा थियौं । कोभिडको लक्षण भएकालाई छुट्टै राखेर उपचार गर्नुपर्ने त्यस्तो केही पाइएन । नानीको शव शवगृहमा राख्ने काम सबै भाइ मुकुन्दसहितले गरे । अहिले अस्पताल नै कोभिडका लागि जोखिम छन् भन्ने लाग्छ ।
म सरकारलाई के भन्न चाहन्छु भने, मेरो त घटना घट्यो । फक्रिँदै गरेको फूल उपचार नपाएर नै चुँड्यो । नेपाल सरकार, स्थानीय तह, महानगरपालिका, स्वास्थ्यसँग जानकार व्यक्तिहरुका लागि मेरो एउटै अनुरोध छ-मेरो नानीको जसरी अरुले उपचार नपाएर मृत्यु हुने अवस्था नहोस् । तुरुन्तै रेस्पोन्स टिम गठन होस्, ताकि कुनै बिरामीका आफन्तले फोन गर्नासाथ तत्काल एम्बुलेन्ससहित रेस्पोन्स गर्न सकियोस् । बिरामीको लक्षण सोधपुछपछि कुन अस्पताल लग्ने सोही टिमले त्यसको व्यवस्थापन गरोस् ।
अहिले यस्तो भयावह स्थिति आइसक्दा पनि गोष्ठी, छलफल, गफगाफमा सीमित देखिन्छन्, सरोकारवाला । गोष्ठी, छलफल, गफगाफ रेस्पोन्स होइन, एक्टिभ रेस्पोन्स टिम भरतपुर महानगरपालिकामा तत्काल आवश्यक छ । उक्त टिममा डाक्टर, सुरक्षाकर्मी, जनस्वास्थ्यसँग सरोकार राख्नेसहित समावेश गरी दक्ष जनशक्ति लिएर बिरामी भएको ठाउँसम्म जाने व्यवस्थापन हुनुपर्छ । उनीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री दिएर उपचार नै नपाएर मृत्यु हुनबाट बचाउनुपर्छ । यसो नभए चितवनमा स्वास्थ्य उपचार पाएर बाँचुला भन्ने आशा गर्नुपनि आकाशको फल हुन जान्छ ।@Imagekhabar
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस