भदौ, चितवन । भरतपुर-११ की यमकुमारी थापा भरतपुर सामुदायिक अस्पतालमा नियमित गर्भ परीक्षण गराउँदै आउनुभएको थियो । चिकित्सकले थापालाई भदौ ६ गते प्रसूति हुने समय दिए । तर, स्वास्थ्यमा समस्या आएपछि साउन ३२ गते उनी नियमित परीक्षण गराउन भरतपुर सामुदायिकमा पुगिन् । चिकित्सकको अभाव देखाएर अस्पतालले भर्ना लिन मानेन । बच्चा जन्मने समयमा हुने पीडासँगै उनी भरतपुर अस्पताल पुगिन् । त्यहाँ टिकट लिइन । तर, लाइनमा बस्ने समयमा प्रसूति विभागका प्रमुख डाक्टर सुनिलमणि पोखरेललाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकाएक सेवा अवरुद्ध हुनपुग्यो ।
‘भरतपुर सामुदायिकले भर्ना लिनै मानेन । भरतपुर अस्पतालमा टिकट काटेर वेटिङ रुममा बसे पनि डाक्टरलाई भेट्न पाइन’, उहाँले सुनाउनुभयो, ‘पछि डाक्टरलाई संक्रमण भएको भन्दै सेवा नै दिन मानेनन् ।’ उनको नर्मल डेलिभरी हुने सम्भव थिएन । पहिलो बच्चा जन्माउन अप्रेशन गर्नुपरेको थियो । अहिले पनि अप्रेशन गर्नुपर्ने बाध्यता अवस्था थियो । अस्पतालले भर्ना लिन मानेन । प्रसूति व्यथा लागिसकेको छ । उहाँ साथिहरुको सहयोगमा चितवन मेडिकल कलेज पुग्नुभयो । त्यहाँ अस्पतालले कोरोना नेगेटिभ भएको कार्ड खोज्यो । धन्न उहाँले यसअघि नै कोरोना परीक्षण गराउनुभएको थियो । नेगेटिभ आएको कार्ड देखाएपछि कलेजले भर्ना लिन मान्यो । साउन ३२ गते नै छोरीलाई जन्म दिनुभयो ।
यो त एउटा प्रतिनिधि घटना भयो । कोरोनाको जोखिम त जति छ । गर्भवती महिलामा त्यसको डर अझ बढी छ । त्यसमा पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालहरुमा सेवा नियमित रुपमा सञ्चालन हुन सकेका छैनन्। त्यसको प्रत्यक्ष मार गर्भवती महिलामा परेको छ । ‘भरतपुरका अस्पतालमा कोरोनाको त्रास छ । त्यही भएर श्रीमतीलाई प्रसूतिव्यथा लागेपछि हेल्थपोस्ट लगेको थिएँ । भर्ना लिन नै मानेन,’ खैरहनीका राम महतोले भन्नुभयो, ‘कोरोनाको डर भए पनि निषेधाज्ञाको समयमा एम्बुलेन्स खोजेर भरतपुर अस्पतालमा ल्याउनुप¥यो।’ भरतपुर अस्पतालमा नर्स र चिकित्सकमा कोरोना संक्रमण हुँदा बिरामीमा पनि त्रसित छन् । अहिले भरतपुर अस्पतालमा प्रसूति हुन आउने महिलाको संख्या घट्दै गएको छ ।
लकडाउनसँगै कारोनाको त्रासका कारण प्रसूति हुन आउने गर्भवतीको संख्या घटेको भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर युवानिधि बसौला बताउनुहुन्छ । ‘भरतपुर अस्पताल मोफसलको सबैभन्दा ठूलो प्रसूति सेवाप्रदायक अस्पताल हो । यहाँ टाढा–टाढाका महिलाहरु पनि प्रसूति गराउन आउँछन्, डा. बर्सौलाले भन्नुभयो, ‘अहिले लकडाउनका कारण यहाँ आउन सम्भव नभएका कारण प्रसूतिलाई आउने संख्यामा घटेको छ ।’ लकडाउन अवधिमा मात्र चितवनमा ५ हजार ८ सय ८१ जनाले सेवा लिएका छन् । अर्को आर्थिक बर्षको सो अवधिको समयमा ७ हजार १ सय ११ जनाले प्रसूति सेवा लिएका थिए । यसरी तथ्यांक केलाउँदा यस अवधिमा १ हजार २ सय ३० जनाले घटेको देखिन्छ । प्रसूति गराउन अस्पतालसम्म नआउनु कोरोनाकै कारण भएको डा. बसौलाको बुझाइ छ । अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र०७६ मा भरतपुर अस्पतालबाट १३ हजार ५ सय ४५ जनाले प्रसूति सेवा लिएका थिए। गत आर्थिक वर्षमा ९ सय ३ जना घटेर १२ हजार ८ सय ४२ जनाले प्रसूति सेवा लिएका छन् ।
शल्यक्रिया गरेर बच्चा जन्माउने घटे
भरतपुर अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्म दिनेको संख्या पनि घट्दै गएको छ। लकडाउनको अवधिको चार महिनाको तुलना गर्दा १ सय ६६ जना कमी आएको छ । यो लकडाउन अवधिमा १ हजार १ सय ११ जनाले शल्यक्रिया गरेका थिए भने अघिल्लो वर्षको यस अवधिमा १ हजार २ सय ६६ जनाले शल्यक्रियामार्फत बच्चालाई जन्म दिएका थिए । लकडाउन अवधिमा नर्मल प्रसूति हुनेको संख्या २ हजार ९ सय ६४, गम्भीर प्रकृतिको अप्रेसन ५६ वटा भएको छ ।
नवजात शिशुको मृत्युदर बढ्यो
भरतपुर अस्पतालमा शिशुको मृत्यु हुनेक्रम पनि बढिरहेको छ । अस्पतालमा लकडाउन अवधिमा मात्र ७० जना शिशुको मृत्यु भएको अस्पतालको तथ्यांक छ । अघिल्लो वर्षको यो अवधिमा ५८ जना शिशुको मृत्यु भएको थियो । यस्तै, यो अवधिमा अस्पतालमा प्रसूति सेवा लिन आएका एकजना आमाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालको तथ्यांकअनुसार ५ हजार ८ सय ८१ शिशुको जन्म हुँदा १३ को मृत्यु भएको हो। त्यसमध्ये जन्मेपछि उपचारक्रममा १३ र गर्भमै ५७ शिशुको मृत्यु भएको अस्पतालका तथ्यांक रहेको डा. बसौलाले जानकारी दिनुभयो । कोरोनाको असर शिशु मृत्युदरमा पनि देखिएको छ । कम्तीमा ३, ६ र ९ महिनामा गर्भ परीक्षण गराउनुपर्नेमा दुर्गमका गर्भवती अस्पतालसम्म पुग्नसक्ने वातावरण नभएको उहाँले बताउनुभयो ।
‘जताततै कोरोनाको डर’
स्वास्थ्यकर्मीमा अझै बढी देखिन लागेको छ । महिलाहरु गर्भ परीक्षण गर्न जान डराउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसको असर अहिले शिशु मृत्युदरमा देखिएको छ ।’ लकडाउनमा सहज रुपमा यातायातका साधन नपाइदा पनि गर्भवतीलाई समस्या भएको छ । ‘तीनवटा शिशुको बाटोमा ल्याउँदा ल्याउँदै एम्बुलेन्सभित्र जन्म भएको छ । यो अवधिमा सबैभन्दा बढी महिना नपुगी जन्मेका शिशु छन् । कम तौलका शिशु बढी पाइएको छ, डा. बसौलाले भन्नुभयो, ‘स्वास्थ्य संस्थामा गएर नियमित परीक्षण गराउने वातावरण नहुँदा पनि यस्तो अवस्था आउन सक्छ ।’ २०७६ चैतमा ५९३, वैशाखमा ३२१, जेठमा ९९८ र असारमा २३०० महिला गर्भजाँचका लागि अस्पताल पुगेमा अहिले औसतमा ५० प्रतिशतले कमी आएको तथ्यांक छ ।
कोरोनाका कारण अस्पतालमा जनशक्ति कम हुँदा पनि सेवामा केही प्रभाव परेको उनले बताए। ‘बिरामीको चाप उच्च छ । हाम्रो जनशक्ति कम छ । यसअघि हेल्थका विद्यार्थी आएर सहयोग हुन्थ्यो । शिशु मृत्युदर घटाउनका लागि अस्पतालले नवजात शिशु सघन उपचार कक्ष र नवजात शिशु उपचार कक्ष गरी २७ शैयाको उपचार कक्ष बनाएको छ । त्यसका साथै मायाको न्यानो अँगालो सेवा ९कंगारु मदर केयर० पनि गोल्डेन कम्युनिटी संस्थाको सहयोगमा सञ्चालनमा भएको छ। अहिले सघन उपचार कक्षमा राखिएका अधिकांश शिशु कम तौलका रहेको उँहाले बताउनुभयो ।
लकडाउन अवधिमा मात्र ३ सय ५२ जना शिशुले सेवा पाएका छन्। त्यस्तै, कंगारु मदर केयरबाट ५८ जनाले सेवा लिएको जनाइएको छ । विशेषगरी कम तौलको शिशु, अक्सिजन लिन नसक्ने, कुनै संक्रमण भएका शिशु, दिसा निलेका शिशु, निमोनिया, महिना नपुगी जन्मिएका शिशु, नवजात शिशुलाई सघन उपचार कक्षमा राखेर उपचार गर्ने गरिएको छ । यहाँ नवजात शिशु सघन उपचार कक्ष १२ बेडको छ। यस्तै, उपचार गरेर सुधारोन्मुख भएका शिशुलाई नवजात शिशु विशेष उपचार कक्षमा राखिन्छ । अहिलेसम्म ७ सय ५० ग्रामतौल भएको शिशु पनि सफल उपचार भएर गएको अस्पतालले जानकारी दिएको छ । सामान्यतया २ किलोभन्दा कम तौल भएका शिशुलाई एनआइसियूमा राख्ने गरिन्छ । नेपाल सरकार, गोल्डेन कम्युनिटी सेन्टर, युनिसेफ र लायन्स क्लवको सहयोगमा नवजात उपचार कक्षमा शिशुको उपचारका लागि आवश्यक पर्ने उपकरण राखिएको हो ।
सो सम्बन्धी स्वास्थ्यकर्मीलाई समय समय तालिमसमेत प्रदान हुने गरेको छ। जसले गर्दा शिशुको उपचारमा सहज भएको मेटनिटी वार्ड इन्चार्ज हीरादेवी सुवेदीले बताउनुभयो । कोभिड–१९ जस्ता महामारी जोखिम नियन्त्रण गर्दै उपचार दिनका लागि विभिन्न संघसंस्थाले तालिम प्रदान गरेका छन् । तर, भरतपुर अस्पतालले कोरोना जोखिमको अवस्था हेरेर प्रसूतिका लागि छुट्टै वैकल्पिक व्यवस्था भने गरेको छैन । एकजना चिकित्सकलाई कोरोना संक्रमण हुँदा काठमाडौं बाहिर सवैभन्दा बढी प्रसूति हुने विभाग नै बन्द गर्नुपथ्यो ।
त्यसका लागि चिकित्सकको पनि वैकल्पिक व्यवस्था गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन्। महामारीको समयमा कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा हेल्थ सर्भाइस जस्ता संघसंस्थाले पनि सहयोग गर्दै आएको बताइएको छ । नवजात शिशु बाँच्ने र स्वस्थ जीवनको सम्भावना जन्मेको पहिलो घण्टाभित्र दिइने स्याहारमा भरपर्ने डा. बसौलाले बताउनुभयो । यसमा आमालाई सुत्केरी अवस्थामा दिइने स्याहारको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने बताउँनुहुन्छ । भरतपुर अस्पतालले मासिक रूपमा निकाल्ने बुलेटिनअनुसार अस्पतालमा सरदर दैनिक ३० शिशु प्रसूति कक्षमा र १० जना अप्रेशन कक्षमा जन्मन्छन् ।@kalikanews
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस