
चितवन, साउन । चितवनमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । लकडाउन खुलेसँगै कोरोना संक्रमण समुदायमै पुगेको हो । विगतमा भारत र विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिए पनि पछिल्लो दिनमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिँदै गएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । ‘चितवनका अस्पताल, सरकारी कार्यालय, बैंक तथा बजार क्षेत्रमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोरोना देखिन थालेको छ ।’
उहाँले भन्नुभयो, ‘कोरोना संक्रमितसंग सम्पर्कमा आएका व्यक्तिहरुको खोजि गर्न सकिएको छैन ।’ तिवारीका अनुसार, चितवन जिल्लामा केही सातादेखि ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा कोराना भाइरस देखा परेको छ । शनिवार कोरोना पुष्टि भएका संक्रमित व्यक्तिहरु पनि समुदाय स्तरका र स्वास्थ्य कर्मी रहेको छन् । शनिवार चितवनमा २८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ९ जना स्वास्थ्यकर्मी रहेका छन् । त्यसमा दुई जना वरिष्ठ चिकित्कस, एक जना मेडिकल अफिसर, ६ जना स्टाफ नर्स रहेका छन् । बैशाख ५ गतेदेखि चितवनमा पहिलोपटक कारोना संक्रमण भएको पुष्टि भएको थियो ।
त्यसपछि अहिलेसम्म १ सय ९९ जना पुगेको तिवारीले बताउनुभयो । संक्रमित मध्ये कोरोना उपचार तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी समेत रहेका छन् । जसमा चितवनका दुई ठुला सरकारी अस्पतालका प्रमुखलाई समेत कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार २६ जना स्वास्थ्यकर्मी, १४ जना सुरक्षाकर्मी र ६ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिकामा नै तिब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । भरतपुर महानगरपालिकामा मात्रै १ सय २१ जनामा संक्रमण पुष्टि भएको तिवारीले जानकारी दिनुभयो । यस्तै, कालिकामा ५, रत्ननगरमा ९, माडीमा ४१, खैरहनीमा ७, राप्तीमा १५ र इच्छाकामनामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
चितवनका संक्रमण मुक्त हुनेको संख्या तीव्र छ । अहिलेसम्म जिल्लामा १सय १३ जना निको भइसकेका छन् । एक जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । ८५ जनाको भने जिल्लाका विभिन्न अस्पताल तथा होम आइसुलेसनमा उपचार भइरहेको कार्यालयले जानकारी दिएको छ ।
समुदायमा कोरोना संक्रमित भेटिन थालेपछि चितवनका स्थानीय तहले निशेधाज्ञा जारी गरेका छन् । सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, रत्ननगर, राप्ती, खैरहनी र कालिका नगरपालिकाले निषेधाज्ञा लागु गरेका छन् । निषेधाज्ञा कडाईका साथ लागु भएमा तत्कालै महामारीको रुप नलिने तिवारी बताउँनुहुन्छ । त्यसका लागि आम सर्वसाधारण मानिसहरुले सर्तकता अपनाउन उहाँले आग्रह गर्नुभयो ।@kalikanews
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस