
साउन, काठमाडौँ । राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका कमजोर बन्दै गइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्न थालेको छ ।
कोरोनाभाइरस (कोभिड– १९)को त्रासका कारण सदस्यको भौतिक उपस्थितिमा पार्टीका औपचारिक कार्यक्रम र भेला नभएपनि सामाजिक सञ्जाल र अन्य माध्यमबाट नेताहरूले तयारी शुरू गरेका छन् ।स्थिति सामान्य रहेमा कांग्रेसको महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ ।
क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिको टुंगो नलाग्दै कांग्रेसको नेतृत्वको लागि ८ जनाले मुख खोलिसकेका छन् ।
सभापति शेरबहादुर देउवा, सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि युवा नेता गगन थापा समेतले कांग्रेसको नेतृत्वका लागि दाबी पेश गरिसकेका हुन् । यद्यपि अहिले गरिएका दाबी सभापति ताकेर पदाधिकारीमा सीट सुरक्षित गर्ने दाउ हुने विश्लेषण पनि कांग्रेसमा छ ।
महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. रामशरण महतदेखि अर्जुननरसिंह केसीसम्मले सभापतिमा उठ्ने बताइसकेका छन् ।
देशका समस्याको समाधान, कांग्रेसलाई सशक्त पार्टी बनाउने एजेण्डाभन्दा पनि कमजोर नै भएपनि पार्टीको नेतृत्व हत्याउने होडबाजी कांग्रेसमा शुरू भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी सभापतिको रूपमा कार्यकाल दोहोर्याउने दाउमा छन् । आफूइतर समूहमा देखिएको नेतृत्वको हानथापलाई आकलन गरेर फेरिपनि सभापतिमा निर्वाचित हुनेमा उनी ढुक्क छन् ।
भाग्यमा सातपटक प्रधानमन्त्री बन्ने योग रहेको दाबी गरेका देउवालाई ‘सत्ताको प्यास’ बाँकी नै रहेको बुझ्न कठिन छैन् । कांग्रेस जतिसुकै कमजोर बनेपनि आफू (व्यक्ति) बलियो बन्नुपर्छ भन्ने देउवाको लाइन छ । पटक–पटक प्रधानमन्त्री बनेको र बहालवाला सभापति भएका कारण महाधिवेशनका लागि देउवा बलियो अवस्थामा छन् ।
आफ्नै उत्तराधिकारी ठानिएका विमलेन्द्र निधिले समेत सभापतिमा उठ्ने संकेत गर्नु देउवाका लागि चुनौती बनेको छ । देउवा निकटस्थहरूका अनुसार निधिले सभापतिमा उम्मेदवारी दिने सम्भावना अत्यन्त क्षीण छ ।
‘उहाँले आफू कति पानीमा छु भनेर तौलिन खोज्नुभएको हो, देउवापछि यो समूहको नेतृत्व गर्ने निधि नै हो, देउवा नउठेको खण्डमा मात्र उहाँले उम्मेदवारी दिनुहुन्छ,’ देउवानिकट स्रोतले भन्यो ।
निधिले छिटफुट रूपमा सभापतिमा उठ्ने अभिव्यक्ति दिएपनि उठ्छु नै भनेर भनिसकेका छैनन् । संस्थापन समूहबाट देउवाका अतिरिक्त निधिको उम्मेदवारी परेको खण्डमा भने अर्को पक्षलाई फाइदा पुग्ने देखिन्छ ।
देउवापछि कांग्रेसको नेतृत्वको लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले दाबी गरिरहेका छन् । कांग्रेसमा पहिलो पुस्ताका नेताहरू बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको निधन भएपछि सुशील कोइराला, देउवा, पौडेललाई दोस्रो तहको नेतृत्वको रूपमा व्याख्या गरिएको थियो । गिरिजापछि सुशील पार्टीको सभापति निर्वाचित भए र प्रधानमन्त्री पनि बने ।
कांग्रेसमा दोस्रो पुस्ताको नेतृत्वमा पौडेल अहिलेसम्म प्रधानमन्त्री र सभापति बन्न सकेका छैनन्, त्यसैले उनी राजनीतिबाट संन्याय लिने पक्षमा छैनन् ।
पहिलो संविधानसभा कालमा कांग्रेस संसदीय दलको नेता बनेपनि प्रधानमन्त्रीको रेसमा पौडेल १७ पटकसम्म पराजित हुनुपर्यो ।
एकपटक पार्टीको सभापति बन्ने र देशको प्रधानमन्त्री बन्ने आकांक्षा पौडेलमा सकिएको छैन । गतसाता पार्टीको विवादलाई लिएर गरिएको पत्रकार सम्मेलनमा पौडेलले केपी ओली र प्रचण्डले अवसर पाए पनि देशका लागि काम गर्ने ढंग नपुगेको भन्दै आफूले अवसर पाए ५ वर्षमा समृद्धि ल्याउने दाबी गर्न छुटाएनन् ।
देशमा समृद्धिको कुरा गरेपनि स्वयं देउवाइतर समूहमा सभापतिको सर्वसम्मत उम्मेदवार बन्न पौडेललाई सकस पर्ने देखिएको छ ।
१३औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएदेखि नै शशांक कोइरालाले कांग्रेसको नेतृत्वको लागि आफू तयार रहेको बताउँदै आएका छन् ।
कांग्रेस संस्थापक बीपी कोइरालाको छोराको नाताले कांग्रेस कार्यकर्ताको सहानुभूति आफूमा रहेको कोइरालाको बुझाइ छ । महामन्त्री भएपनि उनले गुट बनाउन सकेका छैनन् ।
काठमाडौं र आफ्नो निर्वाचन क्षेत्र नवलपुरभन्दा पर उनी पुगेका छैनन् । पौडेलजस्तै देउवाइतरको समूहबाट सभापतिको सर्वसम्मत उम्मेदवार बन्ने कोशिशमा उनी लागेका छन् ।
पछिल्ला तीनवटा संसदीय चुनावमा निर्वाचित भएपनि उनी मन्त्री बनेर सरकारमा गएका छैनन् । मन्त्री बनेर भ्रष्टाचार गरेको या काम नगरेको बात उनलाई लागेको छैन ।
बीपीपुत्र हुनुबाहेक शशांकसँग न भाषण कला छ, न कार्यकर्तालाई रिझाउने खुबी र सीप नै ।
२०७४ सालको आम निर्वाचनमा कांग्रेसको लज्जास्पद पराजयपछि कांग्रेसलाई पुनर्जीवन दिन भन्दै डा. शेखर कोइरालाले देशव्यापी भ्रमण गरेर कार्यकर्तालाई ऊर्जा थप्ने काम गरे । सभापति शेरबहादुर देउवालाई एक्लै हाँक दिइरहेका कोइरालाले कांग्रेसको नेतृत्वका लागि आफू तयार रहेको संकेत गरिरहेका छन् ।
बीपी स्मृति दिवसको अवसरमा साउन ६ गते विराटनगरमा आयोजित कार्यक्रममा कोइरालाले मोरङलाई राष्ट्रिय राजनीतिको राजधानी बनाउनु पर्ने बताएका थिए ।
कांग्रेसको लिगेसी रहेको कोइराला परिवारबाट शेखर वा शशांक जो उम्मेदवार भएपनि कांग्रेसको महाधिवेशनमा तरंग ल्याउने छ । निकटस्थहरूका अनुसार कोइरालाले अन्य नेताहरू काठमाडौंमा वाकयुद्ध गरिरहेको समयमा जिल्लामा गएर कार्यकर्ताको मनोबल उच्च बनाउने र आफ्नो पक्षमा माहोल बनाउने काम गरिरहेका छन् ।
१३औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर पहिलो चरणबाट आउट भएका पूर्वमहामन्त्री कृष्ण सिटौलाले पनि १४औं महाधिवेशनमा सभापतिमा उठ्ने भनेर मुख खोलिसकेका छन् । कांग्रेसमा तेस्रो धार भनेर सिटौलाले १३औं महाधिवेशन भन्दा अगाडि गुटको निर्माण गरेका थिए । पहिलो चरणमा पराजित भएपछि सिटौला समूहले दोस्रो चरणमा देउवालाई समर्थन गरेपछि देउवा सभापति बनेका थिए ।
महाधिवेशनपछि सिटौला देउवाभन्दा पौडेलसँग नजिक रहे । महाधिवेशनको तयारी शुरू भएसँगै सिटौलाले सक्रियता बढाएका छन् । आफूलाई सभापतिको उम्मेदवार बनाएमा पौडेल समूहमा मिसिने अन्यथा आफ्नै गुट बनाएर सभापतिमा उम्मेदवारी दिने सिटौलाको तयारी छ ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेलेको भूमिका तथा दोस्रो संविधान सभामा संविधान मस्यौदा समितिको सभापतिको खेलेको भूमिकाले उनलाई स्थापित गरेको थियो । २०७४ सालको आम निर्वाचनमा पराजित भएपछि सिटौला छायामा परेका छन् ।
कांग्रेस सभापतिको रेसमा प्रकाशमान सिंहले पनि मुख खोलेका छन् । नेपाली कांग्रेसका संस्थापन नेता र २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहका पुत्रको रूपमा कांग्रेस कार्यकर्ताको सहानुभति रहने प्रकाशमानको विश्वास छ ।
प्रकाशमानले पछिल्ला तीनवटा आम निर्वाचनमा अपराजित रहेर राजधानी काठमाडौंको कांग्रेसको इज्जत जोगाउने काम गरे । सभापतिमा दाबी पेश गरेपनि उनीसँग कांग्रेसलाई हाँक्न सक्ने स्पष्ट विचार, नेतृत्व क्षमता र आम मानिसलाई प्रभावित गर्नसक्ने व्यक्तित्व नभएको कांग्रेसकै नेता कार्यकर्ताको विश्लेषण छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा समूहको पिल्लरको भूमिकामा रहेका उपसभापति विमलेन्द्र निधिले समेत सभापतिमा उठ्ने घोषणा गरेपछि देउवा वृत्तमा कोलाहल मच्चिएको छ ।
सभापतिमा उम्मेदवारी दिने निधिको अभिव्यक्ति साँचो हो कि ठट्टा भन्नेमा कांग्रेस नेताहरू सहमत हुन सकेका छैनन् । कांग्रेसको बेस रहेको मधेसमा गुमेको साख फिर्ता गराउन निधिले सभापतिमा उम्मेदवारी दिनुपर्छ भन्नेहरू पनि छन् ।
पहिलो संविधानसभा निर्वाचनमा माओवादीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीको शासकीय स्वरूपको प्रस्ताव बहसमा ल्याएका बेला प्रचण्डसँग चुनाव लड्न तयार छु भनेर प्रतिक्रिया दिने डा. रामशरण महतले १४औं महाधिवेशनमा कांग्रेस सभापतिका लागि उम्मेदवारी दिने बताएका छन् ।
देउवाइतर पौडेल समूहमा रहेका महतले कार्यकर्ताहरूसँग सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।
पटक–पटक देशको अर्थमन्त्री बनेका महत पछिल्लोपटक २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोटबाट पराजित भएका थिए ।
१३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका अर्जुन नरसिंह केसीले पनि कांग्रेसको सभापतिका लागि उम्मेदवारी दिने कायकर्तामाझ बताउँदै आएका छन् ।
कुनै बेला पार्टी महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ केसीले लोकप्रिय मत पाएका थिए । २०७४ सालको प्रतिनिधि सभा चुनावमा केसी नुवाकोटबाट पराजित भएका थिए ।
गणतन्त्र स्थापनाका लागि २०६२/०६३ सालमा भएको विद्यार्थी आन्दोलनबाट उदाएका कांग्रेसका युवा नेता गगन थापाले १४ औं महाधिवेशनमा कांग्रेसको सभापतिका लागि उम्मेदवारी दिने बताउन थालेका छन् ।
बीपी कोइराला ४० वर्षको समयमा पार्टीको सभापति र प्रधानमन्त्री बनिसकेकाले अहिलेको कांग्रेसलाई गतिशील बनाउन युवा नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।
अन्य युवाले उम्मेदवारी दिए आफूले साथ दिने र अन्यले हिम्मत नगरे आफूले उम्मेदवारी दिने गगनले बताएका छन् । १३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन पराजित भएका थिए ।
अध्ययनशील र तार्किक बहस गर्न सक्ने गगनको खुबी छ । संसद्मा प्रधानमन्त्री र सरकारका मन्त्रीहरूलाई प्रश्न सोध्ने शैलीले उनलाई असली प्रतिपक्षी सांसदको रूपमा चिनाएको छ ।
सभापतिमा उम्मेदवारी दिएमा कांग्रेसका युवा पुस्ताको भोट गगनतर्फ जाने विश्लेषण गरिएको छ ।
राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका र हस्तक्षेप खुम्चिएकोमा चिन्तित कार्यकर्ताले गगन जस्तो सशक्त नेता रोज्ने उनीनिकट कार्यकर्ताहरूको विश्वास छ ।
सभापतिमा निर्वाचित भएपनि नभएपनि गगनको उम्मेदवारी नै कांग्रेस महाधिवेशनको रौनक बन्नेछ ।@लोकान्तर
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस