जेठ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहजिल्ला चितवनमा विकास गरेको भनेर देखाउन विभिन्न उद्घाटन कार्यक्रममा आफैं आउँछन् । काठमाडौंका ठूला कार्यक्रम छाडेर पनि प्रचण्ड चितवनमै आएर उद्घाटनमा व्यस्त हुन्छन् ।
जनताको स्वास्थ्यसँग जोडिएको अस्पताल सुधारमा भने प्रचण्डले काम गर्न नसकेको पाइएको छ । बिजोग यतिसम्म छ कि केन्द्रीय अस्पतालको मान्यता पाएको चितवनको भरतपुर अस्पतालको सिटीस्क्यान मसिन बिग्रिएको ६ महिना हुँदासम्म मर्मत हुन सकेको छैन ।
गत मंसिर महिनाबाट बिग्रिएको मसिन जेठ लाग्दासमेत नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महंगो शुल्कमा सिटीस्क्यान गराउन बाध्य भएका छन् । मसिन नचल्दा बिरामी सँगसँगै चिकित्सकले समेत सास्ती भोगिरहेका छन् । बीमा गराएका बिरामी दुई मेडिकल कलेज र मनकामना अस्पताल जाने गरेका छन् भने बीमा सुविधा नलिएका तर सिटी स्क्यान गराउनुपर्नेहरू अन्य निजी अस्पतालमा रेफर भइरहेका छन् ।
प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर छिन् । उनी समेत जनतालाई स्वास्थ्य सुविधा दिएको देखाउन कोरोना अस्पताल उद्घाटन गरेको चुरीफुरी गर्छिन् भने अन्य साना–साना कुरा समेत प्रचार गराउँछिन् । तर रेणु दाहालले नै बनाएको भनेर प्रचार गरेको अस्पतालमा एक जना युवाले उपचार नपाउँदा मृत्यु भएको थियो ।
प्रचण्डपुत्री रेणुकै क्षेत्रमा रहेको भरतपुर अस्पतालमा सिटी स्क्यान गरेको रकम ३ हजारदेखि ९ हजारसम्म तिर्नुपर्थ्यो भने अन्य निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपरिरहेको छ । मेयर दाहालले सरकारी सुविधा भएको अस्पतालमा मसिन मर्मत गर्न नसक्दा सर्वसाधारणले महंगो शुल्कमा सिटीस्क्यान गराउनुपरेको छ । यसअघि भरतपुर अस्पतालमा दैनिक औसत १५ जनाले सिटी गराउँदै आएका थिए । अब सिटीस्क्यानको महंगो शुल्क लिएर निजी मेडिकल र अस्पतालले फाइदा लुटिरहेका छन् भने मेयर रेणु दाहालदेखि प्रचण्डसम्म टुलुटुलु हेरेर बसिरहेका छन् ।
सिटीस्क्यान गराउनुपर्ने बिरामी बाहिर जानुपर्ने बाध्यता रहेको अस्पतालको रेडियोलोजी विभागमा प्रमुख डा. केशव पौडेलले बताएका छन् । सिटी नहुँदा डायग्नोसिस गराउन पनि समस्या भएको उनले बताए । ‘अहिले सिटीस्क्यान र एमआरआई अस्पतालको आधारभूत कुरा नै भइसक्या । भरतपुर जस्तो अस्पतालमा यति लामो समयसम्म सिटी नबन्दा पक्कै पनि बिरामीलाई ठूलो मर्का परेको छ, चाँडै मर्मत होस् भन्ने चाहेका छौं,’ उनले भने ।
सरकार चलाइरहेको शक्तिशाली पार्टीका अध्यक्ष प्रचण्डको गृहजिल्लामा समेत सिटीस्क्यान मसिन समयमै मर्मत नभएर लाजमर्दाे भएको छ । जनतालाई आधारभूत सुविधा दिने मसिन मर्मत गर्न नसक्ने प्रचण्डको राजनीतिक पावर जनतालाई कहिले काम लाग्छ ?@ मिडियाडबली
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस