जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेसका नेताहरूले आत्मप्रशंसाको पुलिन्दा भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आत्मप्रशंसाको पुलिन्दा भएको टिप्पणी गरे ।
डा. महतले भने, ‘सरकारले आगामी वर्ष गर्नुपर्ने कामभन्दा पनि अहिलेसम्म गरेका कमजोरीहरू लुकाउने हिसाबले नीति तथा कार्यक्रम ल्याएको छ । आफ्नो प्रशंसा आफैं गरेर सरकार जनताप्रति अनुत्तरदायी रहेको पुष्टि गरेको छ ।’
नेता महतले आफूलाई नीति तथा कार्यक्रम जस्तै नलागेको प्रतिक्रिया दिएका छन् । ‘यसका धेरै डिफेक्टहरू छन्,’ उनले भने, ‘पहिलो कुरा त आत्मप्रशंसा छ । नीति तथा कार्यक्रम भनेको आगामी आर्थिक वर्षमा अगाडि बढाइने खास महत्त्वपूर्ण नयाँ कार्यक्रमहरूको संगालो हो । यसमा प्राथमिकता तय गरिएको हुन्छ । त्यस्तो देखिएन । यस्तो पनि नीति तथा कार्यक्रम हुन्छ ?’
‘आगामी वर्षका लागि सरकारको प्राथमिकता के हो ? आगामी आर्थिक वर्षमा सरकारले देखाउने उपलब्धि के हो ? राष्ट्रिय स्तरका कार्यक्रममा जोड दिइनुपर्थ्यो, जुन गरिएन,’ उनले भने ।
उनले राष्ट्रपतिले गरेको भाषणमा झण्डै आधा जति चाहिँ विगतमा के–के भयो भनेर उल्लेख गरेको बताए । ‘हरेक ठाउँमा सरकारको प्रशंसा गरेको छ,’ उनले भने, ‘मन्त्रालयका विभाग विभागले गरेका कामहरू पनि राष्ट्रपतिको भाषणमा आएको छ । यो कसरी नीति तथा कार्यक्रम भयो ?’
सरकारले कुनै पक्षसँग पनि छलफल गर्न जरुरी नठानेको आरोप उनले लगाए । ‘यो राष्ट्रिय नीति तथा कार्यक्रम हो, यसमा राष्ट्रिय अपनत्व हुनुपर्थ्यो । सरकारले कुनै पनि पक्षसँग छलफल गरेन । आफ्नै नेताहरूसँग पनि छलफल नगरिकन ल्याएको यो नीति तथा कार्यक्रममा जनताले कसरी अपनत्व महसूस गर्ने हो ?’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस