
काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुत्केरी बोकेको एम्बुलेन्समा बसेर घर आएका पाँच जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका–१० बाट सुत्केरी महिला बोकेको एम्बुलेन्समार्फत सोमबार गाउँ आएका पाँचजनालाई एम्बुलेन्ससहित नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । भाडा तिरेर सुत्केरी बोकेको को १ च ५८६७ नम्बरको एम्बूलेन्सबाट घर आएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर मंगलबारदेखि १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो ।
एम्बुलेन्सका चालकलाई समेत क्वारेन्टाइनमा राखिएको छ । प्रेरणा बहुउद्धेश्यीय सहकारी संस्थामार्फत सञ्चालित सो एम्बुलेन्स नियन्त्रणमा लिएर गाउँपालिकामा राखिएको छ । ‘सुत्केरी बोकेर गाउँ आएको एम्बुलेन्सबाट उहाँहरु पनि घर आउनु भएको रहेछ,’ अध्यक्ष राईले भने, ‘हामीलाई जानकारी हुने वित्तिकै सुत्केरीलाई बाहेक पाँचजनालाई क्वारेन्टाइनमा राखेका हौँ । दुरुपयोग भएकाले एम्बुलेन्सलाई पनि नियन्त्रणमा राखेका छौँ ।’
यस्तै सो गाउँपालिकामा लकडाउनका बेला गाउँ भित्रिनका लागि एक महिलाले गर्भवतीको बाहना गरेको खुलेको छ । केही समयअघि पेटमा सिरानी राखेर गर्भवती भएको वाहना गरेर इटहरीबाट एम्बुलेन्समार्फत घर आएको खुलेको हो । गर्भवती नभए पनि गर्भावस्थामा समस्या आएकाले उपचारमा गएर घर फर्केको बताएकी महिलालाई होम क्वारेन्टाइनमा राखिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले सुरुदेखि नै शहरबाट गाउँ भित्रिनमा कडाई गरिरहेको छ । @ नागरिक दैनिक
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस