वैशाख, बुटवल । पछिल्लो समय भारतबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको छ। भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको हो। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाका क्वारेन्टाइनहरुमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो।
रुपन्देही र कपिलवस्तुमा सोमबार २२ जनामा संक्रमण देखिएका सबै पछिल्लो एक हप्ताभित्रै भारतबाट आएका हुन्। रुपन्देहीको सम्मरीमाई गाउँपालिका ७ का ४ जना ५ दिनअघि भारतको मुम्बईबाट आएका थिए।
उनीहरु भारतीय सीमाबाट लकडाउनकै बीच सुरक्षाकर्मीलाई छल्दै नेपाल प्रवेश गरेका थिए। ‘उनीहरु भारतबाट सिधै क्वारेन्टाइनमा गएर बसेका थिए, समरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले भने–भारतबाट लुकिछिपी आउनेहरुलाई सिधै क्वारेन्टाइनमा राख्ने गरिएको छ।’
संक्रमण देखिएकाहरु भैसाधान मदरसामा रहेको क्वारेन्टाइनमा बसेका थिए। सो क्वारेन्टाइनमा उनीहरुसहित २८ जना बसेका थिए। भारतबाट आउनेहरुको संख्या बढ्दै गएपछि गाउँपालिकाले ७ वटा क्वारेन्टाइन तयार अवस्थामा राखेको छ। २५ बेडका क्वारेन्टाइनमा १ सय ५२ जना रहेको अधिकृत भट्टराईले बताए।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका दुईजना पनि भारतबाटै आएका हुन्। लुम्बिनी सांस्कृतिक नगरपालिका ६ का २ जना पनि लकडाउनपछि भारतबाटै आएका नगरप्रमुख मनमोहन चौधरीले जानकारी दिए।
‘यहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवासमा ४३ र श्रीलंका गेष्टहाउसमा १९ गरी ६२ जना बसिरहेका छन्, उनले भने–उनीहरु सबै भारतबाट लुकिछिपी आएका हुन्।’
संक्रमण देखिएकाहरुको पूरा विवरण भने आइनसकेको उनले बताए। कपिलवस्तुको यशोधरा ८ का ४ जना र बुद्धभूमि ७ का २ जना पनि भारतबाटै आएर क्वारेन्टाइनमा बसेका हुन्।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पछिल्लो समय भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण भइरहेको बताए । उनका अनुसार कपिलवस्तुका ६ जनाको पूरा विवरण आएको छैन।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस