नेपालगञ्ज – नेपालगञ्जमा सात र नौ वर्षका बालिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । १९ गते संक्रमित देखिएका ६० वर्षका व्यक्तिले ट्युसन पढाउने चार घरमध्येका यी बालिकामा संक्रमण देखिएको हो ।
खासगरी उमेर बढी भएकोमा कोरोना संक्रमित देखिइरहेको बेलामा नेपालगञ्जमा ७ र ९ वर्षका बालिकामा पनि कोरोना देखिएको छ । एउटै टोलमा देखिएका २२ जना संक्रमितमा ७, ९, २१, २२ देखि ६० वर्षका छन् ।
भेरी अस्पताल, नेपालगञ्जका डाक्टर बद्री चापागाईले संक्रमितको सम्पर्कमा रहने बालबालिका पनि संक्रमण देखिनु सामान्य भएको बताए ।
‘नेपालगञ्जमा संक्रमित बालिकालाई ६० वर्षका संक्रमितले पढाउन जान्थे, उनको दैनिक सम्पर्क रहेकाले बालिकाहरु संक्रमित भए’, डा. चापागाईले भने, ‘बालबालिकामा संक्रमण नदेखिने भन्ने होइन । बालबालिकाको मुभमेन्ट बढी नहुने भएकाले संक्रमण कम देखिएको हुन सक्छ।’
भेरीकै अर्का डा. राजन पाण्डेले कोरोनाबाट विश्वमै बालबालिकाको मृत्युदर कम रहेको जानकारी दिए । डा. पाण्डेका अनुसार, अहिलेसम्म नेपालमा सिरियस केस देखिएको छैन ।
१८ गतेसम्म कोरोना संक्रमित नदेखिएको नेपालगञ्जमा पाँच दिनमा २३ जना संक्रमित भेटिएको छ । एकजनाको यात्रा विवरण लिँदा एउटै टोलमा २२ जना फेला परेका हुन् । अरु २२ जना संक्रमितको यात्रा विवरण निकाल्ने काम भइरहेको छ ।
एकाएक संक्रमितको संख्या ह्वात्तै देखिएपछि स्थानीय प्रशासनले आजदेखि नेपालगञ्जलाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । नेपालगञ्जवासीलाई घरभित्रै बसाइएको छ । सडक सुनसान छन् ।
एउटै टोलमा झण्डै दुई दर्जन संक्रमित देखिएपछि त्यो टोलका सबैको कोरोना जाँच गर्नुपर्ने आवाज उठेको छ । कोरोना जाँचको तीव्रता दिनु पर्ने बेलामा मंगलबार नेपालगञ्जमा कसैको स्वाव लिएको पाइएको छैन ।
बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले संक्रमितसँग भिडियो कल गरेर सम्पर्क भएका व्यक्तिको पहिचान गरिरहेको बताए ।
‘पुनः परीक्षण’ गर्न माग
खजुरास्थित आइसोलेशन अस्पतालमा रहेका संक्रमितहरुले आफ्नो फेरि कोरोना जाँच गर्न आग्रह गरेका छन् । बिरामीको कुनै लक्षण नदेखिएपछि उनीहरुले पुनः जाँचको आवाज उठाएका हुन् ।
नेपालगञ्जका अगुवा एवं ६० वर्षका व्यक्ति पियन रहेको मस्जिदका व्यवस्थापन समितिका अध्यक्ष समसुद्दिन सिद्धिकीले संक्रमितहरुले आफूलाई फोन गरेर आइसोलेसन अस्पतालमा खाना दिएर बसाउने बाहेक केही नगरेको बताएको जानकारी दिए । ‘उपचार केही गरिएको छैन । खाना दिएर राखिएको छ’, सिद्धिकीले भने, ‘उनीहरुले रिचेक (पुनः परीक्षण) गर्न माग गरेका छन् ।’
सिद्धिकीको छिमेकीहरु हुन् उनीहरु । संक्रमण देखिएपछि आइसोलेशन अस्पतालमा पठाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । सिद्धिकीले संक्रमित देखिएका मात्रै होइन, सबै टोलका मानिसको जाँच गर्न आवश्यक रहेको बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस