चितवन, मंसिर ११–
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश टिम छनोट प्रतियोगिता चितवनमा हुने भएको छ । बागमती प्रदेश क्रिकेट संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरको नमुना क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको स्थानीय आयोजक चितवन जिल्ला क्रिकेट संघले प्रतियोगिताको तयारी सुरु गरेको छ । रंगशालाको नमुना मैदानमा आजदेखि घाँस काट्ने मैदान मिलाउने काम सुरु भएको चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए । ‘नमुना मैदानमा घाँस बढेर खेल्नलायक थिएन, आजबाट घाँस काट्ने काम सुरु गरेका छौं, दुई तीन दिनमा सबै मैदानको तयारी सकेर खेल्न योग्य बनाउँछौं’–मैदानमा खटिएका अध्यक्ष पियाले भने ।
नमुना मैदानको संरक्षण हुन नसक्दा क्रिकेट खेल्नको लागि मैदान अभाव हुँदै आइरहेको छ । मुख्य रंगशाला निर्माण पुरा नहुँदासम्म यस नमुना मैदानलाई अब संरक्षण गरेर वर्षभरी खेल्न योग्य बनाइने अध्यक्ष पियाले बताए । ‘भरतपुर महानगरपालिकासंग हामी निरन्तर सहकार्यमा छौं, नमुना मैदानमा वर्षेनी खेल संचालनका लागि क्रिकेट संघलाई संरक्षणको जिम्मेवारी दिए हामी सधै खेल्न योग्य बनाउने थियौं’–पियाले भने ।
छनोट प्रतियोगिता यही मंसिर १५ गते शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा बागमतीका काठमाडौँ, भक्तपुर, ललितपुर र चितवनका टिम सहभागिता जनाउँदैछ । हरेक दिन दुई खेल हुनेछ । प्रतियोगिताको पहिलो खेलमा विहान ९ बजे काठमाडौँ र भक्तपुर भिड्ने छ भने दिउँसो १२ः३० बजे हुने दोस्रो खेलमा चितवन र ललितपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
छनोट प्रतियोगिता ३ दिनसम्म चल्ने छ । त्यसलगत्तै मंसिर २० गतेदेखि यस मैदानमा बागमती ओमेन्स इलिट ट्रफी प्रतियोगिता समेत हुनेछ । यस प्रतियोगितामा बागमती हरियो, निलो र रातो टिमबीच प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगिताको चार खेल मात्रै नमुना मैदानमा हुनेछ । यस प्रतियोगिताको फाइनलसहित तीन खेल भने काठमाडौंँस्थित मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौँमा हुदैछ । त्यसअघि बागमती प्रदेशको टिमले शसस्त्र प्रहरी बलको एपिएफ क्लवसंग तीन खेलको सिरिज खेल्ने बागमती प्रदेश क्रिकेट संघले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस