चितवन, सुख्खा पहिरोका कारण बिहिबार दिउँसोदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने काम सुरु भएको छ । इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेरबिहिबार दिउसो १ः२० बजेदेखि सडक बन्द भएको थियो । त्यसपछि पटक–पटक सुख्खा पहिरो खसेको छ । आज बिहान ७ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले पहिरो झरेर पहाड बनेको भन्दै पहिरो पन्छाउन सुरु गरेपछि पनि पाँच/छ घण्टा लाग्ने जानकारी दिनुभयो । पहिरो खस्ने क्रम नरोकिए आज दिनभर पनि पहिरो पन्छाएर सडक सूचारु गर्न सक्ने अवस्था नरहने तामाङले बताउनुभयो । पहिरो झर्ने क्रम नरोकिएपछि बिहिबार राती पनि पहिरो पन्छाउने काम हुन सकेको थिएन् । पहिरो पन्छाउनका लागि एउटा एक्साभेटर प्रयोग गरिएको छ ।
रातभर सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा परेका छन् । काठमाडौंबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सवारीसाधनको लाइन विहानसम्म भरतपुर र नारायणगढ क्षेत्र सम्म आइपुगेको छ । आज यात्रा गर्ने यात्रुहरुलाई बैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस