काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै बालेनले यस्तो घोषणा गरेका हुन् ।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,’ उनले लेखेका छन् ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र पर्ने सिंहदरबारबाट निस्किने फोहोर लामो समयदेखि काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्दै आइरहेको छ ।
काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गर्दा संघीय सरकारले असहयोग गरेको थियो । मेयर शाहको अभिव्यक्तिलाई त्यसकै असन्तुष्टिका रूपमा हेरिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले संघीय सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो गर्दै आइरहेका छन् । महानगरपालिकाका मेयर शाहको पछिल्लो घोषणाले दुई सरकारबीच पुनः द्वन्द्व बढ्ने संकेत गरेको छ ।
बालेनले देश सफा गर्न सिंहदरबारका नेतालाई सिस्डोलमा डम्प गर्नुपर्ने अराजक अभिव्यक्ति पनि दिएका छन् ।
‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,’ उनले लेखेका छन् ।
जनप्रतिनिधिको आफ्नै सीमा र दायरा हुने भए पनि बालेन नेताहरूमाथि टिप्पणी गरिरहने मेयरमा पर्छन् । तर उनले यसरी आक्रोसपूर्ण अभिव्यक्ति दिएको भने सम्भवतः पहिलो हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस