चितवनमा घरजग्गाको मूल्यमा झण्डै ३० प्रतिशतसम्मले गिरावट आएको छ ।
बैँकको लगानी नहुँदा र ब्याज बढ्दै गएको कारणले जग्गाको मूल्यमा गिरावट आएको हो ।
चितवनको पदमपुरमा गत वर्षसम्म गठ्ठाको २७ लाख रुपैयाँ भनेको जग्गा घटेर करिब २४ लाख रुपैयाँमा हालसालै किनबेच भयो । पश्चिम चितवनमा जग्गा व्यवसाय गर्दै आएका गणेश गुरुङ पदमपुरमा भएको कारोबारको उदाहरण दिँदै चितवनका अन्य ठाउँमा पनि मूल्य घट्दै गएको बताए । उनको अनुभवमा बैँकको ऋणका कारणले कतिपय नागरिक एक करोड भनेको घडेरीलाई ७० लाख रुपैयाँसम्ममा पनि बेच्न बाध्य भएका छन् । गुरुङले भने, ‘प्लटिङ गर्न नपाएपछि टुक्रे जग्गाको पनि भाउ नआउने रहेछ । बैँकसँगै पैसा नहुदा व्यवसायीले घरजग्गामा लगानी गर्न पाएका छैनन् । किनबेच नहुदा समस्यामा परेकाहरुले घटेर बिक्री गर्न थालेका छन् ।’
बैँकले करोड रुपैयाँमा लिलामीको आव्हान गरेको जग्गा पनि मूल्य घटेको कारणले कसैले किनेको छैन । अर्थतन्त्र देखिएको मन्दीले चितवनमा घरजग्गा कारोबारसँगै मूल्य पनि घट्न थालेको हो ।
८ महिनादेखि घरजग्गाको कारोबार घट्न थालेको थियो । बैंकको चर्को ब्याज थेग्न नसकेपछि पछिल्लो दुई महिनादेखि भाउ नै घटेर जग्गाको कारोबार गर्न खोज्ने छन् । तर, घटेर बेच्न खोज्दा समेत ग्राहक पाएका छैनन् ।
नेपाल उद्योग परिसंघले गरेको अध्ययन अनुसार घरजग्गा कारोबार ४० प्रतिशतले घटेको छ भने घरजग्गाको माग ५२.८ प्रतिशतले घटेको छ । संकट यतिसम्म चुलिएको छ कि अहिले बैंकहरुले धमाधम लिलामीमा चडाएका घरजग्गा पनि नबिकेर अलपत्र परेका छन् । आर्थिक मन्दीसँगै उधारो उठ्न छाडेको छ । यसले आम्दानी घटेको छ । अर्कोतर्फ ऋणको ब्याज दर लगभग दोब्बर भइसकेको छ । आर्थिक मन्दीका कारण एकातिर कुनै आर्थिक कारोबार छैन भने उच्च ब्याज दरले ऋण तिर्ने क्षमतामा कमी आइरहेको छ ।
यी दुवै कारणले गर्दा बैंक तथा वित्तीय संस्थाको ऋण उठ्न छाडेको हो । ऋण उठ्न छाडेपछि बैंकहरुले धितो लिलाम गर्न थालेका हुन् । त्यही भएर केही बैंक तथा वित्तीय संस्थाले एउटै सम्पत्ति लिलामीका लागि पटक–पटक सूचना जारी गरिरहेका छन् । यो क्रम केही महिनायता ह्वात्तै बढेको छ ।
शहरीकरण र जनघनत्व बढ्दै गएको चितवनका विभिन्न शहरी क्षेत्रमा पनि आर्थिक संकटले घरजग्गाको भाउमा नकारात्मक असर परेको छ । यी क्षेत्रहरुमा समेत जग्गाको दाम घटाएर बेच्ने व्यवसायीको संख्या बढ्दै गएको व्यवसायी बताउँछन्। मुख्य गरी बैंकिङ कर्जा चुक्ता गर्नुपर्ने व्यवसायीहरुले नै मूल्य घटाएर जग्गा बेच्ने क्रम बढेको छ ।
चितवनका जग्गा व्यवसायी दिनेशकुमार चुकेले बैँकको ऋणको प्रेसरले गर्दा पहिले ५० लाख रुपैयाँ भनेको जग्गा आजभोलि ४० लाख रुपैयाँमा कारोबार हुन थालेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘कतिपयलाई इज्जतको सवाल छ । बैँकको ऋण तिर्नलाई पत्रिकामा नाम आउला भनेर पनि सस्तोमा नै बेच्ने गरेका छन् । ’ आफ्नो जग्गाको लगानी सुरक्षित नदेखेका व्यवसायीहरुले घाटा खाएर पनि बेच्ने गरेको उनले बताए ।
सरकार र राष्ट्र बैंक एकअर्कालाई सिध्याउन लाग्दा उत्पन्न नीतिगत कमजोरीका कारण घरजग्गासँगै देशको समग्र आर्थिक अवस्था शिथिल बनेको चुकेको विश्लेषण छ । सँगै सरकारले ल्याएको भू–उपयोग नियमावली कार्यान्वयनमा अनेक उल्झन आएका कारण घरजग्गा कारोबार नै ठप्प प्राय बनेको उनले बताए । उनले भने, ‘ मालपोत कार्यालयले फेरि जग्गाको बिक्री बितरण रोकेको छ ।’
त्यसैगरी, सरकारको भू–उपयोग नियमावलीका कारण अहिले स्थानीय तहहरुले सहजरुपमा जग्गा वर्गीकरणको काम गर्न नसकेकाले पनि घरजग्गा कारोबार प्रभावित बनेको छ । मालपोत कार्यालय भरतपुरका प्रमुख शेरबहादुर भण्डारीले स्थानीय तहले ६ महिनासम्म पनि जग्गाको बर्गीकरण गर्न नसकेको कारणले जग्गाको कारोबार रोकिएको बताए । उनले भने, ‘ मालपोत कार्यालयको कारणले भन्दा स्थानीय तहले काम गर्न नसक्दा समस्या आएको हो । यसकै कारणले मालपोतमा कारोबार घटेको छ । कारोबार घटेसँगै घरजग्गाको मूल्य पनि सुस्ताउन गएको छ ।’
मूल्य घट्नु कमजोर सूचक
औधोगिक क्षेत्रको जग्गाको मूल्य घट्नु सकारात्मक भए पनि समग्र रियल स्टेट व्यवसायको मूल्य घट्नु भने अर्थतन्त्र कमजोर भएको सूचक भएको विज्ञहरु बताउँछन् । आर्थिक लगानीको क्षेत्रमा अनुसन्धान र विश्लेषण गर्दै आएका प्राध्यापक डा कपिलदेव सुवेदीले बैँकको ब्याजदर चर्काे भएको कारण मूल्य घट्ने अवस्था आएको बताए । उनले भने, ‘ यो संकेत राम्रो होइन । यसको नकारात्मक प्रभाव अर्थतन्त्रमा पर्छ ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस