रत्ननगर । चितवन क्षेत्र नं १ का सुकुमबासीहरुले सत्ता गठबन्धनका उमेदवारहरुसँग लालपुर्जा नपाउँदाको आक्रोश पोखेका छन् । गठबन्धनको निर्वाचन परिचालन समितिले आयोजना गरेको सुकुमबासीसँगको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सुकुमबासीलाई आश्वासनमात्रै दिने तर लालपुर्जा नदिने भन्दै उमेदवारहरुसँग आक्रोश पोखेका हुन् ।
सो कार्यक्रममा नेपाली कांग्रेसका उमेदवार डा. विश्वनाथ पौडेल र समाजवादीबाट प्रदेशसभा सदस्य पदका उमेदवार कृष्णप्रसाद खनाल सहभागी थिए । सुकुमबासी समुदायका अगुवाहरुले उद्यारो भोट नदिने भन्दै लिखित प्रतिबद्धता गर्नुपर्ने माग गरेका थिए । सुकुमबासी समुदायका अगुवाहरुले उमेदवारहरुको हस्ताक्षर गराउन चार बुँदे मागसहित प्रतिबद्धतापत्र तयार गरी कार्यक्रमस्थलमा ल्याएका थिए । उमेदवार पौडेल र खनालले एक–एक प्रति लिए तर आचारसंहिताले बन्देज गरेका कारण उनीहरुले सो पत्रमा भने हस्ताक्षर गरेनन् ।
प्रतिबद्धतापत्रमा भूमिहीन सुकुमबासीलाई तत्काल लालपुर्जा वितरण गर्नुपर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्नुपर्ने, सुकुमबासी बस्तीमा आधारभूत पूर्वाधार निर्माण गर्नुपर्ने, सुकुमबासी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क गर्नुपर्ने र सबै परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्नुपर्ने माग गरेका छन् । ‘हामीले सधैँ उद्यारो भोट हाल्यौँ’, नेपाल बसोवास बस्ती संरक्षण समाज रत्ननगरका उपाध्यक्ष रवि भट्टले भने, ‘अब लिखित प्रतिबद्धता नजनाएसम्म भोट हाल्दैनौँ ।’
चितवन क्षेत्र नं १ प्रदेशसभा ‘ख’अन्तर्गत सुकुमबासी समुदायको मात्र ७ हजार १४० मत रहेको उनीहरुसँग तथ्याङ्क रहेको छ । सुकुमबासीको भोट सधैँ निर्णायक हुने गरेको भन्दै उपाध्यक्ष भट्टले भरपर्दो आधार पेश गर्ने उमेदवारलाई मात्र मतदान गर्ने बताए ।
करिब एक वर्षअघि चितवनका सुकुमबासी समुदायले नो लालपुर्जा नो भोटको अभियान चलाएका थिए । तर, स्थानीय निर्वाचनको बेला दलहरुको आश्वासनकै कारण उनीहरुले मतदान गरे । ‘दिऊँलाजस्तो गरे, त्यो पनि आश्वासनमात्रै रहेछ’, उपाध्यक्ष भट्टले भने, ‘यसपटकको निर्वाचनमा लिखित प्रतिबद्धता नै चाहिन्छ ।’
सुकुमबासी महिलाहरुको सहकारी आकृति महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष फूलमाया लामाले चुनाव सकिएको १५ दिनभित्र लालपुर्जा दिने ग्यारेन्टी नभएसम्म भोट नदिने बताइन् । ‘हामीलाई दलहरुले पटकपटक झुक्याए’, उनले भनिन्, ‘यसपटक आवाश्वनकै भरमा भोट दिँदैनौँ ।’ सुकुमबासी समुदाय एकजुट रहेको भन्दै उनले यिनीहरुले भोट दिइहाल्छन् भनेर बेवास्ता गरे धोका हुने बताइन् । ‘दलहरुले हामीलाई पटकपटक धोका दिए’, उनले भनिन्, ‘अब धोका दिने पालो हाम्रो हो ।’
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले मंसिर ११ गतेबाट सुकुमबासीलाई लालपुर्जा वितरणको प्रक्रिया सुरू गर्ने बताए । पूर्वी चितवनका तीनवटा पालिकाका अधिकांश सुकुमबासीहरुलाई निस्सा वितरणको काम सकिएको भन्दै उनले निर्वाचन सकिएलगत्तै लालपुर्जा वितरणको काम सुरू हुने बताए । ‘निस्सा भरपर्दो आधार हो’, उनले भने, ‘तपाईंहरुलाई लालपुर्जाको वितरण गर्ने जिम्मेवारी म लिन्छु ।’
प्रतिनिधिसभा सदस्य पदका उमेदवार डा. पौडेलले राज्यको अन्यायको सिकार सुकुमबासी बनेको बताए । ‘सुकुमबासी समुदाय राज्यबाट अन्यायमा परेको वर्ग हो’, उनले भने, ‘त्यसको सिकार तपाईंहरु हुनुभएको छ ।’ सुकुमबासीले भूमि प्राप्त गर्ने अधिकार सुनिश्चितताका लागि आफूले काम गर्ने भन्दै उनले धनी र गरिबबीचको असमानता हटाउन चुनावी मैदानमा आएको बताए । अहिलेसम्म बनेका सरकारले सुकुमबासीलाई जग्गा दिन आँट गर्न नसकेको भन्दै उनले नीतिगत पैरवी गरेर लालपुर्जा वितरण गर्न सहजीकरण गर्ने बताए ।
‘नेपालमा ४५ प्रतिशत वन क्षेत्र छ’, उनले भने, ‘त्यसलाई फाँड्दा आकाश खस्ने थिएन, तर कसैले आँट गर्न सकेनन् ।’ राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्षसमेत रहेका डा. पौडेलले भरतपुरमा लालपुर्जा वितरण हुँदा पूर्वी चितवनका सुकुमबासी उपेक्षामा पर्नुको कारण खोजेका थिए ।
कार्यक्रममा सहभागी राष्ट्रिय भूमि आयोगका सदस्यहरु लक्ष्मीकान्त दवाडी र नीलप्रसाद लामिछानेसँग उनले कारण खोजेका छन् । ‘भरतपुरमा लालपुर्जा वितरण गर्दा यहाँ किन बाँडिएन ?’ उनले प्रश्न गर्दै भने, ‘लालपुर्जा वितरण गर्न सकेको भए यति धेरै मतदाता हाम्रो पक्षमा हुनुहुँदो रहेछ ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस