काठमाडौं,मतदाता परिचय पत्र भएका देशभरका कारागारमा रहेका कैदीबन्दीले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सांसदको निर्वाचनमा भोट हाल्न पाउने भएका छन् ।
कारागारमा रहेका कैदीबन्दीले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । अस्थायी मतदान केन्द्रको व्यवस्था गरी कैदीबन्दीलाई आयोगले अस्थायी मतदाताको सूचीमा राखेको छ । अस्थायी मतदाताको लागि ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरिसकेको आयोगले जनाएको छ।
२०७२ सालको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था छ ।
नेपालका विभिन्न जिल्लामा गरेर देशभरका कारगारमा कुल २७ हजार १९५ जना कैदीबन्दीहरु रहेका छन् । तीमध्ये नेपाली कैदीबन्दीको संख्या मात्रै २५ हजार ९०६ रहेको कारागारा व्यवस्थापन विभागले जनाएको छ । जसमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला रहेका छन् ।
विभागका अनुसार नेपालमा हाल कैदीको मात्र संख्या १४ हजार ६७८ रहेको छ । कैदीमध्ये १३ हजार ९३० पुरुष र ७४८ जना महिला रहेका छन् । यस्तै नेपालमा हाल कुल थुनुवा (बन्दी)को संख्या १२ हजार ५१७ रहेको छ । बन्दीमध्ये पुरुषको संख्या ११ हजार ७७९ र महिलाको संख्या ७३८ रहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस