नवलपरासीको वर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा बोकेको लु ३ च ३३३६ नम्बरको गाडी नियन्त्रणमा लिइएको हो । अवैध माछा हो वा होइन भन्ने विषयमा दिनभर छलफल चलाए पनि निचोडमा पुग्न नसकेपछि राजस्व अनुसन्धानका लागि सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको पशु क्वारेन्टाइन रामनगरका पशु स्वास्थ्य प्राविधिक शिरीष गौतमले जानकारी दिए ।
‘नेपाली बिलमा सीमापारिको माछा ल्याएर बिक्री गर्ने गरेका उदाहरणहरु प्रशस्तै छन्’, उनले भने, ‘आजको माछामा पनि त्यो आशङ्का छ, त्यसैले थप अनुसन्धानका लागि सशस्त्रको जिम्मा लगाएका छौँ ।’ अब सशस्त्र प्रहरीले थप अनुसन्धान गरी अवैध नै पुष्टि भएमा कानुनी प्रावधानअनुसारको कारबाही गर्नेछ ।
चितवनका व्यवसायीले गत असोज १ गतेदेखि नियमित अनुगमन गर्दै आएका छन् । सोही क्रममा तेस्रोपटक अवैध माछा नियन्त्रणमा लिइएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए । भारतीय तथा अवैध माछाको आयातमा रोक लगाउने भनेर सम्बन्धित पक्षबीच छलफल चलाएर निर्णय नै गरिसक्दासमेत आउने क्रम नरोकिएपछि मत्स्य व्यवसायीले अनुगमनलाई जारी राखेको उनले बताए ।
चितवनमै वार्षिक करिब छ हजार पाँच सय टन माछा उत्पादन हुँदै आएको मत्स्य व्यवसायी संघ चितवनको दाबी छ । त्यसमा पनि करिब ६५ प्रतिशत उत्पादन चितवनमै खपत हुने गरेको छ । त्यसबाहेकका बाँकी उत्पादन भने काठमाडौँ, पोखरालगायतका सहरहरुमा निर्यात हुने गरेको छ । तर, भारतीय अवैध तथा विषाक्त माछाको आवागमन नरोकिँदा नेपाली माछाले बजार पाउन नसकेको व्यवसायी संघ चितवनका उपाध्यक्ष अर्जुन लामिछानेले बताए ।
भारतीय अवैध माछा पूर्णरुपमा रोक्न नसकेसम्म मत्स्य व्यवसायीहरुको यो आन्दोलन नरोकिने उनले बताए । उनका अनुसार अहिले व्यवसायीहरु हरेक दिन र राति आलोपालो गरेर जिल्लाका विभिन्न नाकामा अनुगमनका लागि बसिरहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस