चितवन, भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ ।भवन निर्माणका लागि अहिले शर्मा–सगरमाथा–सगुन जेभीले जग खन्ने काम अघि बढेको हो । जेभीले मूल्यअभिवृद्धि करसहित ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्ने छ ।
महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कठिन रहेको अवस्थामा नयाँ भवन बनाउन लागिएको बताउनुभयो । संघीय अर्थ मन्त्रालय, बाग्मती प्रदेश र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चित्ता गरेर भवन निर्माण गर्न लागिएको प्रमुख दाहालले बताउनुभयो । संघीय सरकारबाट ३५ करोड रुपैयाँ, वागमती प्रदेश सरकारबाट ठेक्का स्वीकृत रकमको ५० प्रतिशत बजेट विनियोजन गर्ने गरी स्रोत सुनिश्चित भएको छ ।
विकेन्द्रित सेवाहरू अब छिट्टै सुविधा सम्पन्न महानगरगरपालिकाको केन्द्रिकृत भवनबाट सहजरुपमा प्रदान
हुने विश्वास महानगरपालिकाको छ । भवनको गत चैत ११ गते चितवन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुभएको थियो ।
६ तले भवनको जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर बन्ने भवनमा ५० गाडी र २५० वटा मोटरसाइकल अट्न सक्ने अन्डर ग्राउण्ड पार्किङ हुनेछ ।
भवनमा दुईवटा लिफ्ट, सांस्कृतिक हल, पुस्तकालय रहने छन् । त्यस्तै प्रत्येक तलामा ज्येष्ठ नागरिक विश्राम कक्ष रहनेछ । भवनमा १५८ वटा साना ठूला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् ।
महानगरले ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको थियो । पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्साङ्कन गरिएको महानगरले जनाएको छ । भरतपुर क्षेत्रको उच्च ठाउँमा भवन हुने हुँदा महानगरको सहरी क्षेत्रको दृश्यावलोकन गर्न सक्ने आकर्षक भवन बन्ने अपेक्षा महानगरको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस