काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ।
गाउँकार्यपालिका बैठकले संक्रमितका लागि मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो।
संक्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुल घलेका अनुसार पालिकाभित्र १६ जना एचआईभी संक्रमित रहेका छन्। उनीहरूमध्ये ५ जना पुरुष र ११ जना महिला छन्। स्वास्थ्य शाखामार्फत एआरटी औषधि प्रयोग गरिरहेका उनीहरू कोही पनि सामाजिक रूपमा बाहिर खुलेका छैनन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले संक्रमितले भत्ता बुझ्नका लागि निवेदनको साथमा नागरिकताको प्रतिलिपी र एचआइभी संक्रमित पुष्टी हुने कागजात पेस गर्नुपर्ने बताए।
यसअघि गाउँपालिकाले ६० देखि ६९ वर्ष उमेरका एकल पुरुष र ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक पाँचसय भत्ता दिने निर्णय गरेको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस