भरतपुर, चितवन मेडिकल कलेजले ९६६ जना कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरेको भनी सरकारसँग सोधभर्ना मागेको छ । सोधभर्नाबापत मागिएको रकम कूल १० करोड ९५ लाख रहेको छ । एउटै बिरामीको उपचार खर्च आठ लाख ४० हजार निकालिएको छ ।
५६ दिन उपचार भएको र जसमा चार दिन आइसियू र ५२ दिन भेन्टिलेटरमा राखिएको भनी आठ लाख ४० हजार माग गरिएको छ । अन्य केही बिरामीको उपचार खर्च पनि आठ लाख कटेको छ । त्यस्तै १२ जना बिरामीको उपचार खर्च पाँच लाख बढी छ । न्यूनतम पनि एक दिन उपचार गराउनेको हकमा एचडियू सेवा लिएकाको सात हजार र आइसियू वा भेन्टिलेटर सेवा लिएका हकमा १५ हजार चितवन मेडिकल कलेजले लिएको पाइएको छ ।
एचडियू चार्ज प्रतिदिन सात हजार तथा आइसियू र भेन्टिलेटरको चार्ज भने समान अर्थात् प्रतिदिन १५ हजार रहेको अस्पतालले पेश गरेको विवरणमा उल्लेख छ । जिल्ला प्रशासनले भने उपचार गराएबापत बिरामीसँग पनि पैसा लिएको हुन सक्ने भनी गुनासो वा उजुरीका लागि आइतबार सूचना निकालेर सार्वजनिक आह्वान गरेको छ ।
चितवन मेडिकल कलेजले दोहोरो शुल्क लिएको भनी मन्त्रालयमा उजुरी परिसकेको छ । मन्त्रालयले अनुसन्धानपछि प्रतिवेदन पनि बुझाइसकेको छ ।
सङ्क्रमितहरुको उपचार व्यवस्थापन सम्बन्धमा सम्झौता भएका अस्पतालहरुले ०७८ वैशाखदेखि असार १५ सम्म उपचार गरिएको बिरामीहरुको सम्झौताबोजिम निःशुल्क उपचार भए–नभएको छानबिन गरी पठाउन मन्त्रालयले परिपत्र गरेको सोहीअनुसार गुनासो संकलनका लागि सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी शाखा अधिकृत खेमराज पौडेलले बताए ।
यसअघि गत बिहीबार कलेज अफ मेडिकल साइन्सेस (पुरानो) मेडिकल कलेजले १७६ जना कोरोना सङ्क्रमितको निःशुल्क उपचार गरिएको भन्दै मन्त्रालयमा शोधभर्नाका लागि आग्रह गरेपछि मन्त्रालयले निःशुल्क उपचारको विषयमा सङ्क्रमितसँग पनि पैसा लिएको वा नलिएको बुझी पठाउन भनेकाले प्रशासनले सूचना जारी गरेको हो ।
एउटा बिरामीको अधिकतम दुई लाख ७० हजारसम्मको उपचार निःशुल्क गरेको मेडिकल कलेजले जनाएको छ । सबै बिरामीको गरी एक करोड हाराहारीमा निःशुल्क उपचार भएको उल्लेख छ । गत वर्ष नै पुरानो मेडिकल कलेजले उपचारमा बढी पैसा लिएको भनी जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । छानबिन गरी उजुरीको प्रतिवेदन प्रशासनले केन्द्रमा पठाइसकेको छ ।
कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने सम्झौता गरेर कतिपय मेडिकल कलेजहरुले बिरामीसँग पनि रकम लिएपछि मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो । सरकारले कोरोना सङ्क्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक दुई हजार, एचडियूमा बसेको तीन हजार ५०० र आइसियू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजारमात्रै लिन पाउने व्यवस्था गरेको छ ।
पिसिआर परीक्षणमा चर्को शुल्क लिएको भनी प्रशासनमा चितवन मेडिकल कलेजविरूद्धको मुद्दा अझै टुङ्गिएको छैन । सरकारले जम्मा दुई हजारमा सबै शुल्क लिएर परीक्षण गराउन भनेकोमा दुई हजार ५०० शुल्क लिइएको थियो । १८ लाख रूपैयाँ धरौटी अस्पतालसँग गत वर्ष मंसिरमा आदेश भएको थियो ।@ चितवन पोस्ट
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस