बिदेशी विद्यार्थीहरुका लागि पुन भिसा जारी सुरु गर्न विद्धानहरुले जापानलाई आग्रह गरेका छन् । अमेरिका, जापान, बेलायत र अन्य देशका विश्वविद्यालयहरूका ६५० भन्दा बढी शिक्षाविद् र विद्यार्थीहरूले बिहीबार जापान सरकारलाई विद्यार्थी र अनुसन्धानकर्ताहरुलाई भिसा जारी गर्न पुनः सुरु गर्न आह्वान गरेका हुन् । जापानले नयाँ भिसा जारी प्रक्रिया कोरोना भाइरस महामारी पश्चात करिव दुई बर्षदेखी निलम्बन गरेको छ । जापान आईसीयू फाउन्डेशनका कार्यकारी निर्देशक पल हेस्टिङ्सको नेतृत्वमा शिक्षाविद्, व्यवसायी र विद्यार्थीहरूको समूहले न्युयोर्कमा जापानी महावाणिज्य दूत कान्जी यामानुचीलाई एउटा निवेदन बुझाएका छन् । जसमा चेतावनी पूर्वक नयाँ भिसा प्रतिबन्धले जापानका शैक्षिक संस्थाहरूसँगको विश्वव्यापी सम्बन्ध र प्रतिष्ठालाई खलल पारेको उल्लेख गरिएको छ ।
जापानले आफ्ना विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई विदेश पठाउन थाले पनि आफुले भने विद्यार्थी र अनुसन्धानकर्ताहरू प्रवेशमा रोक लगाउँदै आएको छ । पारस्परिकताको अभावले अन्य देशका जापानी विश्वविद्यालयहरू र विद्यालयहरूबीचको साझेदारीलाई नोक्सान पुर्याउने अपिलमा उल्लेख गरिएको छ ।अपीलमा हस्ताक्षर गर्नेहरूमा अमेरिकाको हार्वर्ड विश्वविद्यालय, प्रिन्सटन विश्वविद्यालय र कोलम्बिया विश्वविद्यालय, इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटी, जापानको केइओ विश्वविद्यालय र क्योतो विश्वविद्यालय र बेलायतको कार्डिफ विश्वविद्यालय जस्ता प्रसिद्ध शैक्षिक संस्थाका प्राध्यापक र विद्यार्थीहरू रहेका छन ।हेस्टिङ्सले बिहीबार एक अनलाइन प्रेस सम्मेलनमा जापान सात औद्योगिक राष्ट्रहरूको समूहको एक मात्र देश रहेको जसले हाल विदेशी विद्यार्थीहरूको लागि भिसा जारी नगरेको, विनिमय कार्यक्रमहरू खतरामा पारेको बताएको छ ।जनवरीमा, जापानले कोरोना भाइरसको फैलावट रोक्नको लागि लागू गरेको कडा सीमा नियन्त्रण नीति अन्तर्गत सरकारी छात्रवृत्तिहरू बाहेक विदेशी विद्यार्थीहरूलाई भिसा दिन बन्द यथावत राखेको छ ।जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार २०२१ को पहिलो छ महिनामा केवल ७,००० नयाँ विदेशी विद्यार्थीहरू जापानमा प्रवेश गरेका थिए, जुन महामारीको प्रकोप अघिको २०१९ को सोही अवधिको तुलनामा ८८.५ प्रतिशतले कम हो ।धेरै विद्यार्थीहरूले जापान आउने योजनाहरू रद्द गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि खुला देशहरूमा अध्ययन गर्ने छनौट गर्न थालेका छन । प्रवेश प्रतिबन्धले उच्च शिक्षा जापानमा अध्ययन गर्न चाहने बिदेशीहरुको रोजाईमा समग्र रुपमा कमी ल्याउन सक्ने विद्धानहरुले औंल्याएका छन ।जापानमा हालै कोभिड-१९ संक्रमणको संख्यामा क्रमिक रूपमा कमी आएको देख्दा, यात्रा प्रतिबन्धहरू चाँडै खुकुलो हुन सक्ने ठानिएको छ ।जापानमा हप्तादिन यता देशभर दैनिक संक्रमण ३ सयको आसपासमा पुष्टि हुन थालेको छ । देशभर केवल ७ हजार सक्रिय कोरोना संक्रमित छन् ।
आपतकालिन अवस्था हटाएर व्यवसायिक क्षेत्र माथिको प्रतिबन्धपनि हटाईरहेको जापानले आसन्न आम निर्वाचन अघि नव प्रवेशीको लागि नयाँ निर्णय गर्ने सम्भावना कम रहेको देखिन्छ ।जापानमा संसदको तल्लो सदनको निर्वाचन अक्टोबर ३१ तारिख हुँदैछ । धेरैले आम निर्वाचन पश्चात विश्वव्यापी कोभिड संक्रमणको अवस्थालाई हेरेर जापानले नोभेम्वर मध्यसम्ममा विद्यार्थी लगायत अन्य भिषामा नव प्रवेशिहरुलाई खुलाउन चरणबद्ध घोषणा गर्ने विश्वास गरेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस