काठमाडौं: यदाकदा बलिउडका अन्तिम सुपरस्टार भनिने शाहरुख खान चार वर्षपछि ‘हिरो’ बनेर ठूलो पर्दामा फर्किए- फिल्म ‘पठान’ मार्फत्।
थुप्रैले फिल्म हेरिसकेका छन्। हेरेकामध्ये अधिकांशले “राम्रै” प्रतिक्रिया दिएका छन्।
तर बुझ्नैपर्ने कुरा के हो भने- ती प्रतिक्रिया फिल्मको कलात्मकताको लागि होइन। न त अभिनय, न त कथा, न त निर्देशनकै लागि हो।
केका लागि फिल्मले ‘राम्रै’ प्रतिक्रिया पायो ?
पहिलो त – बलिउडको गिर्दो साखप्रतिको सहानुभूति हो। लामो समयदेखि बलिउड फ्लप मात्र भइरहेको बेला यत्तिको फिल्म चल्छ भन्ने मानसिकता हो।
दोस्रो – सुपरस्टार क्रेज हो। शाहरुख, दीपिका, जोन र केमियो भूमिकामा सलमान। बलिउडका फ्यानलाई के चाहियो!
तेस्रो – फिल्ममा भरपूर एक्सन छ। भलै ती एक्सन तार्किक छैनन्। विश्वसनीय छैनन्। पहिल्यै अनुमान लगाउन सकिने छन्। तर एक्सन त हो।
चौथो – भारतमा यो चल्नु र रुचाइनुको कारण फिल्म ‘मोदी राष्ट्रवाद’ले ओतप्रोत हुनु हो।
पाँचौँ – नायकको नायकत्व अत्यधिक देखाइएको छ। नायिकालाई अधिकांश दृश्यमा ‘सेड्युसिभ’ देखाइएको छ। भिलेन ‘क्युट’ छ। सौन्दर्यप्रधान छ चलचित्र।
यी त केही उदाहरण हुन्। तपाईं यी पक्ष रुचाउने वर्गमा पर्नुहुन्छ भने यो फिल्म हेर्दा ठीकै हुन्छ।
तर।
१- तपाईं फिल्ममा कला खोज्नुहुन्छ,
२- कम्तीमा एक्सनप्रधान नै भए पनि तार्किक होस्, विश्वसनीय होस् भन्ने चाहनुहुन्छ,
३- ‘एक था टाइगर’को लभ सिक्वेन्स र ‘वार’को एक्सन सिक्वेन्स दोहोर्याएर हेर्न चाहनुहुन्न,
४- कयौँपटक अवसर पाउँदा पनि भिलेनले हिरोलाई नमारी छोडेको, अनि अन्तिममा हिरोभन्दा बलियो भिलेन अपत्यारिलो तरिकाले हारेको/मरेको दृश्य पचाउन सक्नुहुन्न,
५- एकोहोरो रटाइएको राष्ट्रवाद मन पर्दैन,
६- सुपरस्टार पावरमा विश्वास गर्नुहुन्न,
७- कमजोर कथा र निर्देशन चित्त बुझ्दैन,
८- र, तपाईं हलिउडका ‘डबल ओ सेभेन’ जस्ता पात्रको पारखी हुनुहुन्छ भने यो फिल्म तपाईंका लागि बनेको होइन।
फिल्ममा यी बाहेक पनि थुप्रै दिक्कलाग्दो पाटो छ। फिल्ममा सलमान खानको आगमनबाहेक कुनै पनि दृश्य सस्पेन्सयुक्त छैन। सिनेमाटोग्राफी, ब्याकग्राउण्ड म्युजिक र सम्पादन पनि औसत छ।
फिल्मलाई अल्छीलाग्दो हुन नदिन मेहनत भने भएको छ। ठीकै-ठीकै मनोरञ्जनात्मक पनि छ।
अब, पठान हेर्ने कि नहेर्ने- रोजाइ तपाईंकै।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस