भरतपुर, भरतपुर कृष्णपुरको राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले माघ २५ गतेदेखि फागुन २ गतेसम्म स्वर्ण महोत्सवका विभिन्न कार्यक्रम गर्ने भएको छ । विसं २०२४ सालबाट अनुमति प्राप्त गरेको विद्यालयले स्वर्ण महोत्सवको अवसरमा मोटरसाइकल ¥यालीदेखि सांस्कृतिक कार्यक्रम गरी एक दर्जनबढी कार्यक्रम गर्न लागेको हो ।
शनिबार विद्यालयले गरेको पत्रकार सम्मेलनमा माघ २४ गते विद्यालयले प्रचारप्रसारको लागि मोटरसाइकल ¥याली, माघ २५ गते शोभायात्रा, कार्यक्रम उद्घाटन र आर्थिक सहयोग स्वघोषणालगायतको कार्यक्रम राखिएको जनाएको छ । त्यसैगरी माघ २६ गते विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विभिन्न विद्यालयमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने, लोकसांस्कृतिक कार्यक्रम, आमा समूहको कार्यक्रम प्रस्तुतीलगायतका कार्यक्रम गर्ने भएको छ । त्यसैगरी फागुन २ गतेसम्म निरन्तर विद्यालयमा विद्यार्थी प्रतिभा प्रस्तुती, कवाज, सांस्कृतिक कार्यक्रम र सभा बिसर्जनलगायतका कार्यक्रम हुने विद्यालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
स्वर्ण महोत्सवका विभिन्न कार्यक्रममा एक करोड १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको स्वर्ण महोत्सव समारोह मूल समितिका संयोजका राजेन्द्रमणि काफ्लेले जानकारी दिनुभयो । सो खर्चको लागि आवश्यक रकम विज्ञापन, बोलचन्दा, विभिन्न संघसंस्था, संस्थागत कार्यालय र शिक्षकहरुबाट उठाइने भएको छ । विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रोजेक्टरसहितको कक्षा कोठा, सभाहल, अत्याधुनिक प्रयोगशालालगायत स्थापना गरिसकेको संयोजक काफ्लेले जानकारी दिनुभयो ।
विद्यालयमा अहिले कक्षा १ देखि १० सम्म ४६५ जना विद्यार्थी अध्ययरत छन् भने २२ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । प्रेमबस्ती राष्ट्रिय पाठशालासम्म पुग्न विद्यार्थीलाई टाढा भएपछि स्थानीय समाजसेवीहरुको सहयोगमा विद्यालयले २०२३ सालबाट अक्षराम्भ गरी विद्यालयको सुरुआत गर्नुको साथै २०२४ सालबाट विद्यालयको अनुमति प्राप्त गरेको थियो । विसं २०२८ सालबाट प्राथमिक पाठशाला, २०६० सालबाट निम्न मावि र २०६४ सालबाट माध्यमिक विद्यालय सुरु भएको काफ्लेले बताउनुभयो ।
विद्यालयलाई गुणस्तरीय र प्रविधियुक्त समावेशी नमूना विद्यालय बनाउन आवश्यक आर्थिक सहयोग जुटाउन स्वर्ण महोत्सव गर्न लागिएको बताइएको छ ।
कोरोना महामारी, विद्यालयको भौतिक संरचना लगायत विविध कारणले गर्दा स्वर्ण महोत्सव केहि पछाडि धकेलिएको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद न्यौपानेले बताउनुभयो । विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दै लगेकाले विद्यार्थीको संख्या समेत बढ्दै गएको उहाँले जानकारी दिनुभयो । कृष्णपुर माविमा हाल ४६५ जना विद्यार्थी अध्ययनरत छन् । पत्रकार सम्मेलनको दिन विभिन्न दाताहरूले गरी २६ लाख ५९ हजार ४०२ रूपैयाँ विद्यालयलाई नगद तथा चन्दाको स्वःघोषणा गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस