नवलपुर, नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको हालको स्वीकृत शय्या १५ हो । जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा रुपान्तरणको तयारी गरिएको छ । पन्ध्र शय्याको अस्पताल भए पनि हाल ७२ शय्या सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा १५ शय्याको दरबन्दी रहेको र सोही जनशक्तिबाट मुस्किलले सेवा दिनुपर्ने बाध्यता रहेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताउनुभयो ।
अस्पतालमा बिरामीको चाप धेरै रहेकाले थोरै जनशक्तिबाट सेवा दिन निकै कठिन रहेको उहाँको भनाइ छ । “हामी १५ शय्याको दरबन्दीमा चलेका छौँ, ५० शय्यामा स्तरोन्नति हुने क्रममा छ, तर अहिले पनि ७२ शय्या सञ्चालनमा छ”, मेडिकल सुपरिटेन्डेन्ट कँडेलले भन्नुभयो, “आवश्यक स्रोत र जनशक्ति नहुँदा सेवा दिन निकै मुस्किल भएको छ ।” उहाँका अनुसार १५ शय्याको अस्पतालका रूपमा स्वीकृत दरबन्दी ३१ जना रहेको छ । यसमध्ये हाल जम्मा १४ जनामात्रै जनशक्ति रहेका छन् ।
हाल स्वीकृत शय्याको जनशक्ति पूरा गरी अस्पतालाई कम्तीमा सय शय्याको अस्पतालका रूपमा सञ्चालन गर्ने गरी स्रोत र जनशक्ति आवश्यक रहेको उहाँको भनाइ छ । अस्पतालमा ज्यालादारी र अन्य कार्यक्रमका जनशक्तिको प्रयोग गरेर सेवा दिनुपर्ने अवस्था रहेको सुपरिटेन्डेन्ट डा कँडेलले बताउनुभयो । अस्पतालको भौतिक संरचनादेखि अन्य उपकरण, मानव जनशक्ति सबै कम रहेकाले तत्काल प्रदेशले यसको सुधारका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार जिल्ला अस्पतालमा विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने बिरामीको चाप उल्लेख्य बढेको छ । विसं २०७७÷७८ मा २२ हजार तीन सय ६१ जनाले सेवा लिएकामा गत आवमा ९० हजार सात सय ५६ जनाले सेवा लिएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस