



काठमाडौँ, पुस २७ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिनुभएका शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरी बाइसे–चौबीसे राज्यलाई एक सूत्रमा बाँध्न पुर्याउनुभएको योगदानको स्मरण गर्दै सरकारी तथा गैरसरकारी तहमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिँदैछ भने नेपाली सेनाले सैनिक मुख्यालय जंगीअड्डा परिसरमा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान समारोहको आयोजना गरेको छ, जसमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ। शाहको जन्मस्थान गोरखामा पनि यो दिवस विशेष कार्यक्रमसहित मनाइँदै आएको छ। २० वर्षको उमेरमा गद्दीआरोहण गर्नुभएका शाहले आन्तरिक तथा बाह्य चुनौतीलाई सामना गर्दै एकीकरण अभियान अघि बढाउनुभएको थियो र १८३१ सालमा ५२ वर्षको उमेरमा उहाँको निधन भएको थियो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई सुदृढ बनाउने प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस