



२६ पुस, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र आसपास आज बिहान विभत्स अवस्थामा दुई पुरुष र एक महिलाको शव फेला परेको छ। मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विकको पहिचान खुलेको छ भने बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार विक ग्रिन रोड प्रालिअन्तर्गत प्रशोधन केन्द्रका कर्मचारी हुन्। प्रारम्भिक रूपमा कम्पाउण्डबाहिर दुई पुरुषको शव देखिएपछि प्रहरीलाई खबर गरिएको र अनुसन्धानका क्रममा केन्द्र नजिकै टहरा बनाएर बस्ने पुरुष र उनीसँगै बस्दै आएकी महिलामध्ये महिला करिब ७०० मिटर टाढा जनकल्याण माविको पछाडि कसेरीघाटको जङ्गलमा मृत अवस्थामा फेला परेकी थिइन्। शवको अवस्था अत्यन्तै बीभत्स रहेको बताउँदै मृतक दुई पुरुषको पेटमा धारिलो हतियार प्रहार गरिएको र महिलाको घाँटी रेटिएको पाइएको वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी उपरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा टोली तथा तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली परिचालन गरिएको छ भने शवहरू दमौलीस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। प्रारम्भिक अनुसन्धानबाट यो घटना नियोजित हत्या हुनसक्ने प्रहरीको अनुमान छ र अपराधी पहिचानका लागि नाकामा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस