



देशभर हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको असरका कारण देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानमा भने हुस्सु तथा कुहिरो लागेको अवस्था देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो कायमै रहने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। यी तीनै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति पनि मौसमको अवस्था धेरै हदसम्म उस्तै रहने महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा रातिको समयमा हुस्सु लाग्नेछ भने कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सम्भावित हल्का वर्षा र हिमपात तथा तराई भूभागमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने जनाएको छ। यसका साथै पर्यटन, स्वास्थ्य सेवा तथा सडक यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस