



यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा बढी वर्षा भए पनि जनधनको क्षति भने विगत वर्षको तुलनामा निकै कम भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गत वर्षको तुलनामा यो वर्ष बाढी, पहिरो, चट्याङ र भारी वर्षाका घटनाहरू घटेका छन्, जसले मानव र भौतिक क्षतिमा कमी ल्याएको हो।
प्राधिकरणका तथ्यांकअनुसार, वि.सं. २०८१ मा २,१३९ विपदजन्य घटना भएका थिए भने २०८२ मा ती घटेर १,४५४ मा सीमित भएका छन्। गत वर्ष ४९५ जनाको मृत्यु भएकोमा यो वर्ष १४० जनाको निधन भएको छ। त्यस्तै, प्रभावित घरपरिवार पनि गत वर्षको तुलनामा करिब आधा घटेका छन् — गत वर्ष १०,८२३ घरपरिवार प्रभावित भएका थिए भने यस वर्ष ५,९९५ घरपरिवार मात्र प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार, बाढीका २९२, पहिरोका ५१३, भारी वर्षाका ३९७ र चट्याङका २५२ घटना यस वर्ष भएका थिए। बाढीका कारण ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते, साथै ३,२०० घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन्। पहिरोमा ६७ जनाको मृत्यु, ४ जना बेपत्ता र ७७ जना घाइते भएका छन् भने १,५१८ घरपरिवार प्रभावित भएका छन्।
भारी वर्षाका कारण ७ जनाको मृत्यु र २० जना घाइते भएका छन् भने ९६६ घरपरिवार प्रभावित भएका छन्। यस्तै, चट्याङले २९ जनाको ज्यान लिएको र १८९ जना घाइते बनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, यस वर्ष मनसुनले औसतभन्दा बढी वर्षा गराएको छ। नेपालमा मनसुन जेठ १५ गते प्रवेश गरी असोज २४ गते समाप्त भएको थियो, कुल १३५ दिन रह्यो। यस अवधिमा १,३७५.४ मि.मि. वर्षा भएको विभागले जनाएको छ, जुन सामान्य औसत १,४१५.५ मि.मि. को ९७.२३ प्रतिशत हो। वर्षा औसतभन्दा बढी भए पनि, तयार र समन्वित पूर्वतयारीका कारण क्षति कम भएको विश्लेषण गरिएको छ।
मनसुनको अन्त्यतिर भने केही ठूलो क्षति भएको थियो। गत असोज १७ देखि २० गतेसम्म मात्र ५३ जनाको मृत्यु भएको थियो। मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित रह्यो, जहाँ ३९ जनाको ज्यान गएको थियो। सरकारले त्यसपछ्यै इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
त्यस्तै, रसुवाको भोटेकोशीमा असार २४ गते गएको बाढीले ठूलो विनाश ल्यायो। सो घटनामा १८ जना बेपत्ता, ११ वटा शव र मानवअंग फेला परेका थिए। बाढीले रसुवागढी नाकाको मितेरी पुल, सुक्खा बन्दरगाह र तीन जलविद्युत् आयोजनामा अर्बौं रुपैयाँ बराबरको क्षति पुर्यायो, साथै कार्गोसहित ७६ वटा सवारी साधन बगायो।
मनसुनको प्रारम्भमा भने मधेश प्रदेशमा सुक्खा समस्या देखा परेको थियो। त्यसैले सरकारले गत साउन ८ गते मधेशलाई तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
प्राधिकरणले यस वर्षको क्षति घट्नुको प्रमुख कारण मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२ लाई मानेको छ। सो योजनाअनुसार सबै निकायहरू एकीकृत रूपमा परिचालित भएका थिए। प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा स्थापना गरिएको कमाण्ड सेन्टरले लगातार ३८ घण्टासम्म समन्वय र निर्देशन जारी राखेको थियो, जसले विपद् व्यवस्थापनलाई प्रभावकारी बनायो।
गत १० वर्षको विपद् विवरण
विपद् जोखिम प्राधिकरणका तथ्यांकअनुसार,
२०७३ मा ६४२ घटना, २८९ मृत्यु
२०७४ मा ६२४ घटना, २८९ मृत्यु
२०७५ मा ६९३ घटना, १२२ मृत्यु
२०७६ मा ८४६ घटना, २०३ मृत्यु
२०७७ मा १,०१५ घटना, ३८२ मृत्यु
२०७८ मा ७३७ घटना, १६५ मृत्यु
२०७९ मा ७१२ घटना, १७९ मृत्यु
२०८० मा ८९१ घटना, ९२ मृत्यु
२०८१ मा २,१३९ घटना, ४९५ मृत्यु
२०८२ मा १,४५४ घटना, १४० मृत्यु
यसरी हेर्दा, गत वर्षको तुलनामा यो वर्ष जनधनको क्षति उल्लेखनीय रूपमा घटेको देखिन्छ। प्राधिकरणका अनुसार, समयमै गरिएको तयारी, एकीकृत प्रतिकार्य प्रणाली र स्थानीय तहमा सचेतना अभिवृद्धिले यस वर्षको मनसुन व्यवस्थापनलाई प्रभावकारी बनाएको निष्कर्ष निकालिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस