



भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सव अन्तर्गत आइतबार सम्पन्न कराँते प्रतियोगितामा ब्रह्मपुर टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण पदक जित्दै समूहतर्फ पहिलो स्थान हासिल गरेको छ। त्यस्तै, हिमालयन डोजोले दुई स्वर्ण पदकसहित दोस्रो स्थानमा पुगेको छ।
प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीबीच रोचक प्रतिस्पर्धा भएको थियो। पुरुषतर्फ ४० केजीमा ब्रह्मपुरका कुशल लोहनीले स्वर्ण पदक जिते भने पर्साका गगन सेढाईले रजत प्राप्त गरे। अंकुरमका नवनित वर्मा र विजयका विवेक महतोले कास्य पदक हात पारे। ४५ केजी समूहमा ब्रह्मपुरका विजय थापा मगरले स्वर्ण जित्दा भरतपुरका लसिप सारु मगरले रजत जिते। त्यस्तै, विजयका रोशन सुनार र धर्मचोकका सविन विकले कास्य जिते।
५० केजी समूहमा हिमालयनका हेमन्त तामाङले स्वर्ण पदक जिते भने कालिकाका सनिश कुमालले रजत हात पारे। ब्रह्मपुरका आशिष विक र विजयका अर्मान श्रेष्ठले कास्य जिते। ५५ केजी समूहमा ब्रह्मपुरका रामसिंह मोक्तानले स्वर्ण जिते भने कालिकाका अनुप उपरकोटीले रजत जिते। विजयका अशोक कुमाल र आदर्शका सुबिन श्रेष्ठले कास्य जिते। ६० केजीमा ब्रह्मपुरकै अभिषेक कुमाल स्वर्ण विजेता बने।
महिलातर्फ ३५ केजी समूहमा भरतपुरकी वर्षा लामाले स्वर्ण जितेकी छन्। विजयकी श्रीया पौडेलले रजत जित्दा ग्रान्डीकी सोफिया तामाङ र अंकुरमकी सयन शर्माले कास्य जिते। ४० केजीमा हिमालयनकी सिविका क्षेत्रीले स्वर्ण हात पारिन् भने पर्साकी टेनिशा पाण्डेले रजत जिते। रत्ननगरकी अतिथि थापा मगर र मगनीकी समिक्षा चौधरीले कास्य जिते।
त्यस्तै, ४५ केजीमा ओमशान्तीकी अलिएस आलेले स्वर्ण जित्दा रत्ननगरकी एस्मी गुरुङले रजत जितिन्। निन्जाकी सिन्निमा राई र ब्रह्मपुरकी एलिना थापा मगरले कास्य जिते। ५० केजी समूहमा ब्रह्मपुरकी नम्रता वाइवा स्वर्ण विजेता बनिन् भने हिमालयनकी सुप्रिया पौडेलले रजत जिते। धर्मचोककी भाविका तामाङ र पर्साकी विकिसा महतोले कास्य जिते।
महिला ५५ केजीमा ब्रह्मपुरकी अस्मिता तामाङले स्वर्ण र विजयकी बिनिशा तामाङले रजत हात पारे। भरतपुरकी मोक्षा भट्ट र पर्साकी अर्चना खुलालले कास्य जिते।
प्रतियोगितामा पुरुषतर्फ ब्रह्मपुरका रामसिंह मोक्तान र महिलातर्फ भरतपुरकी वर्षा लामा उत्कृष्ट खेलाडी घोषित भए। विजेताहरूलाई नेपाल कराँते महासंघ बागमती प्रदेशका अध्यक्ष तथा चितवन कराँते संघका अध्यक्ष गगन लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीलगायतले पुरस्कार वितरण गरे।
महोत्सवमा कराँतेसँगै तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स र बुद्धिचाल लगायतका खेल प्रतियोगिताहरू पनि सञ्चालन भइरहेका छन्। मंसिर २ गतेसम्म चल्ने यस महोत्सवले खेलकुद, व्यापार र संस्कृतिको समायोजनमार्फत स्थानीय प्रतिभा र सामुदायिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकहरूले बताएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस