



काठमाडौँ — आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।
सुपर–सिक्स चरणको आफ्नो पहिलो खेलमा नेपालले चिर–परिचित प्रतिद्वन्द्वी युएईमाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले दुवै खेल जित्दै सुपर–सिक्समा स्थान बनाएको हो। पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा जापानमाथि पाँच विकेटको जित दर्ता गरेको थियो।
अब नेपाल लगातार चौथो जितको खोजीमा छ। सुपर–सिक्समा नेपालसँग ४ अंक रहेको छ र टोली अहिले अपराजित छ।
उता, कतार समूह ‘ए’ बाट सुपर–सिक्समा प्रवेश गरेको टोली हो। उसले समूह चरणमा मलेसियालाई पराजित गर्दै यो चरणमा स्थान बनाएको थियो। तर सुपर–सिक्सको पहिलो खेलमा कतार ओमानसँग ३४ रनले पराजित भएको थियो।
नेपाल र कतारबीच अहिलेसम्म तीन पटक भिडन्त भएकोमा नेपालले दुई र कतारले एक खेल जितेका छन्। यी तथ्याङ्कले नेपाललाई आजको खेलमा मनोवैज्ञानिक बढाइँ दिने देखिन्छ।
सुपर–सिक्समा नेपालले पाँचवटै टिमसँग प्रतिस्पर्धा गर्नेछ। तीमध्ये युएईसँग पहिलो खेल जितिसकेको नेपालले आज कतारसँग खेल्नेछ भने आगामी खेलहरूमा ओमान र सामोआसँग पनि प्रतिस्पर्धा गर्नेछ। आफ्नो समूहबाटै आएको जापानसँग भने नेपालले पुनः खेल्ने छैन।
यो चरणमा हुने १२ खेलपछि शीर्ष तीन स्थान हासिल गर्ने टिमहरूले २०२६ फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि प्रत्यक्ष छनोट पाउनेछन्। नेपालले बुधबार ओमान र शुक्रबार सामोआविरुद्ध बाँकी दुई खेल खेल्नेछ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस