



काठमाडौँ — चितवनमा बाढीपहिरोका कारण रोकिएका यात्रुवाहक सवारी साधनहरूलाई सावधानीका साथ गन्तव्यतर्फ अघि बढ्न चितवन प्रहरीले अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, हाल बाटो आंशिक रूपमा सञ्चालनमा आए पनि पूर्ण रूपमा सुरक्षित नहुँदा यात्रु र चालकले आवश्यक सतर्कता अपनाई यात्रा गर्नुपर्ने अवस्था रहेको छ।
प्रहरीले चितवनमा अलपत्र परेका यात्रुवाहक सवारी साधनहरूलाई चरणबद्ध रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाएको जनाएको छ। तर, मालवाहक सवारी साधनहरूको हकमा भने अर्को सूचना जारी गरी जानकारी गराइने प्रहरीले स्पष्ट गरेको छ।
यसैबीच, बाटो पूर्णरूपमा सुरक्षित नभएकाले यात्रु टिकट बिक्री र यात्रु जम्मा गर्ने कार्य तत्कालका लागि रोक्न पनि सम्बन्धित काउन्टरहरूलाई अनुरोध गरिएको छ। अर्को सूचना नआएसम्म टिकट बिक्री स्थगित रहने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “हाल चितवनस्थित बाटोमा अलपत्र परेका सम्पूर्ण यात्रुवाहक सवारीहरूलाई गन्तव्यतर्फ सावधानीका साथ अगाडि जान अनुरोध छ। मालवाहक सवारीको हकमा पछि जानकारी गराइनेछ। साथै बाटो पूर्ण सुचारु र सुरक्षित भइनसकेको हुँदा काउन्टरबाट नयाँ टिकट काटी यात्रु जम्मा नगर्नुहुन अनुरोध छ।”
चितवनका विभिन्न क्षेत्रमा निरन्तर वर्षा र बाढीपहिरोको जोखिम रहेकाले केही दिनअघि सवारी आवतजावतमा रोक लगाइएको थियो। अहिले सडक खण्ड क्रमशः सञ्चालनमा आएपछि प्रहरीको समन्वयमा यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने कार्य जारी छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस